[1] सोलोमनको श्रेष्ठगीत।
[2] उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्— किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ।
[3] तपाईंका अत्तरहरूका सुबास्ना सुगन्धित छ; अत्तर खन्याइएको बास्नाजस्तै तपाईंको नाम सुगन्धित छ। यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्नुपर्दैन!
[4] मलाई तपाईंसित लैजानुहोस्—हामी हतार गरौँ! राजाले मलाई आफ्ना भित्री कोठामा ल्याऊन्। तिमीमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौँ; दाखमद्यभन्दा बढी तिम्रो प्रेमको प्रशंसा हामी गर्नेछौँ। तपाईंको प्रशंसा गरेर तिनीहरूले कति उचित गर्छन्!
[5] हे यरूशलेमका छोरीहरू हो, म काली वर्णकी भए तापनि हिस्सी परेकी छु; केदारका पालहरूजस्तै, सोलोमनको पालका पर्दाजस्तै।
[6] म काली भएकीले छक्क परेर मलाई नहेर; किनकि चर्को घामले डढेर म यस्ती भएकी हुँ। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई तिनीहरूले दाखबारीको हेरचाह गर्ने जिम्मा दिए; तर मैले आफ्नै दाखबारीचाहिँ बेवास्ता गर्नुपर्यो।
[7] हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्; तपाईंले आफ्ना भेडाबाख्राहरू कहाँ चराउनुहुन्छ, मध्यदिनमा तिनीहरूलाई कहाँ विश्राम गराउनुहुन्छ, तपाईंका साथीहरूका बगालहरूका छेउमा म किन अनुहार छोपेकी स्त्रीझैँ बनूँ?
[8] हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने, भेडाबाख्राका पाइलाहरू पहिल्याउँदै जाऊ, र गोठालाहरूका पालहरूको छेउमै आफ्ना बाख्राका पाठाहरूलाई चराऊ।
[9] हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी घोडीसित तुलना गर्दछु।
[10] तिम्रा गाला कानका झुम्काले, र तिम्रो गला रत्न जडेको हारले सुन्दर देखिन्छन्।
[11] हामी तिम्रा लागि चाँदीका दाना जडिएका सुनका लुर्कनहरू बनाउनेछौँ।
[12] महाराजा आफ्नो भोजका टेबुलमा बस्नुहुँदा, मेरो अत्तरको सुबास्ना फैलिन्छ।
[13] मेरा प्रियतम, मेरा निम्ति मूर्रको थैलीजस्तै हुनुहुन्छ, जो मेरा छातीको बीचमा ढल्कनुहुन्छ।
[14] मेरा प्रेमी, मेरा निम्ति एन-गदीका दाखबारीहरूमा फुल्ने मेहदी फूलको गुच्छाझैँ हुनुहुन्छ।
[15] हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ, ओह, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्तै छन्।
[16] हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ! कत्ति सुन्दर हुनुहुन्छ! हाम्रो ओछ्यान लहलहाउँदो छ।
[17] हाम्रा घरका दलिनहरू देवदारुका छन्; अनि सल्ला रूखका छाना छन्।