Skip to content
Opens in a new window
Listen to this chapter • 4:10

[1] बुद्धिमान् मानिसजस्तो को छ र? यी कुराहरूको व्याख्या कसले गर्न जान्दछ? मानिसको बुद्धिले उसको अनुहार उज्यालो बनाइदिन्छ, र त्यसको कठोर रूप बदलिन्छ।

[2] म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ।

[3] राजाको उपस्थितिबाट गइहाल्न हतार नगर। खराबीको पक्षमा खडा नहोऊ; किनकि तिनले आफूलाई जे गर्न इच्छा लाग्छ, त्यही नै गर्नेछन्।

[4] राजाको बोली आधिकारिक हुनाले कसले तिनलाई यसरी भन्‍न सक्ला, “हजुर यो के गर्दै हुनुहुन्छ?”

[5] जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन; अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्‍नेछ।

[6] यद्यपि मानिसमाथि धेरै दुःख-कष्‍ट आए तापनि सबै थोकको उचित समय र उचित प्रक्रिया हुन्छ।

[7] भविष्यको बारेमा कसैले नजानेको हुनाले; हुन आउने घटनाको बारेमा कसले उसलाई भन्‍न सक्छ र?

[8] जसरी कुनै मानिससित हावालाई थाम्ने शक्ति छैन; त्यसरी नै मृत्युको दिनमाथि पनि कसैको शक्ति हुँदैन। जसरी युद्धको समयमा कसैले छुट्टी पाउँदैन; त्यसरी नै दुष्‍टताले दुष्‍टलाई छोड्दैन।

[9] सूर्यमुनि गरिने सबै कामलाई विचार गरेर हेर्दा मैले यी सबै देखेँ। यस्तो एक समय हुन्छ, अर्कोमाथि कठोर शासन गर्ने मानिसले आफ्नै हानि गर्छ।

[10] मैले दुष्‍ट मानिसहरू आदरपूर्वक गाडिएका पनि देखेँ—जो पवित्रस्थानबाट आउने-जाने गर्दथे, र तिनले खराबी गरेकै सहरमा प्रशंसा पाउँदथे; यो पनि अर्थहीन हो।

[11] जब अपराध कार्यको निम्ति तुरुन्तै दण्ड दिइँदैन, तब मानिसको मन दुष्कर्म गर्ने इच्छाले भरिन्छ।

[12] यद्यपि एक दुष्‍टले एक सय अपराध गरेर पनि धेरै दिनसम्म बाँचिरहला; तापनि म यो जान्दछु, परमेश्‍वरको भय मान्‍ने र उहाँप्रति श्रद्धा गर्ने मानिसलाई असल नै हुनेछ।

[13] तर दुष्‍टले परमेश्‍वरको डर नमान्‍ने भएकोले त्यसलाई असल हुनेछैन; र त्यसको आयु बेलुकीको लामो छायाजस्तो हुनेछैन।

[14] यसबाहेक पृथ्वीमा हुने अर्को अर्थहीन कुरा छ: अधर्मीले पाउनुपर्ने दण्ड धर्मीले पाउँदछ, र धर्मीले पाउनुपर्ने पुरस्कार अधर्मीले पाउँदछ; मैले भनेँ, यो पनि अर्थहीन छ।

[15] यसैले म जीवनमा आनन्द गर्ने सल्‍लाह दिँदछु, किनकि मानिसलाई सूर्यमुनि खानु, पिउनु र रमाइलो गर्नुभन्दा अरू उत्तम कुरा केही छैन। सूर्यमुनि परमेश्‍वरले जति दिनहरू मानिसलाई दिनुभएको छ, उसको त्यही परिश्रमलाई नै आनन्दले साथ दिनेछ।

[16] जब मैले आफ्नो बुद्धि जान्‍नमा र पृथ्वीमाथि दिनरात नसुती गरिने मानिसहरूका परिश्रम हेर्नमा मन लगाएँ,

[17] तब मैले परमेश्‍वरका सारा कार्यहरूलाई देखेँ। सूर्यमुनि के-के हुन्छन्, ती कसैले बुझ्न सक्दैन; तिनको खोजी गर्न जति नै प्रयास गरे तापनि मानिसले तिनको अर्थ पत्ता लगाउन सक्दैन। कुनै बुद्धिमान् मानिसले म जान्दछु भनी दाबी गरे तापनि त्यसले वास्तवमा त्यो बुझेकै हुँदैन।

उपदेशक — Chapters