[1] मैले मनमनमै भनेँ, “आइज, म तँलाई असल के रहेछ भनी थाहा गर्न सुख-विलासद्वारा जाँच गर्नेछु।” तर त्यो पनि अर्थहीन रहेछ भनी प्रमाणित भयो।
[2] मैले भनेँ, “हाँसो पागलपन हो; अनि सुख-विलासले के लाभ हुन्छ र?”
[3] आफूलाई मनोरञ्जन गर्न मैले मद्यपान गरेँ, र मूर्खतालाई अँगालेँ—मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्याउँदैथियो। आफ्नो छोटो जीवनमा मानिसले स्वर्गमुनि के असल काम गर्नुपर्ने रहेछ भनी म जान्न चाहन्थेँ।
[4] मैले ठूला-ठूला कामहरू सुरु गरेँ। मैले आफ्ना निम्ति घरहरू बनाएँ; र दाखबारी लगाएँ।
[5] मैले बगैँचाहरू र उद्यानहरू बनाएँ, र त्यहाँ सबै किसिमका फलफूलका रूखहरू रोपेँ।
[6] बढ्दै गरेका रूखहरूको सिँचाइ गर्नलाई मैले पानीका दहहरू बनाएँ।
[7] मैले दास-दासीहरू किनेँ; अनि मेरा घरमा जन्मेका अन्य दासहरू पनि मसित थिए। यरूशलेममा मभन्दा अगिका सबै मानिसहरूका भन्दा पनि धेरै गाईबस्तु र भेडाबाख्राहरू मसँग थिए।
[8] मैले आफ्ना निम्ति सुन र चाँदी, र विभिन्न राजाहरू र प्रान्तहरूबाट धनसम्पत्ति थुपारेँ; मैले मानिसको हृदयको आनन्दको निम्ति, गायक-गायिकाहरू र स्त्री-निवास समेत राखेँ।
[9] म यरूशलेममा मेरो अगिका सबैभन्दा धेरै महान् भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रहिरह्यो।
[10] मेरा आँखाहरूले चाहेका कुनै पनि अभिलाषा प्राप्त गर्न मैले आफैँलाई इन्कार गरिनँ; मेरो हृदयलाई मोजमस्ती गर्न मैले कुनै पनि कसर बाँकी राखिनँ। मेरा सबै मेहनतमा मेरो हृदय प्रसन्न थियो; अनि मेरो सारा परिश्रमको फल यही थियो।
[11] जब मैले मेरा हातहरूद्वारा गरिएका सबै कामहरू र मैले गरेका सबै परिश्रमका उपलब्धीहरूलाई विचार गरेँ; ती सबै कुराहरू अर्थहीन थिए। ती सबै कुराहरू बतासलाई खेदेको जस्तो मात्र रहेछ; सूर्यमुनि केही कुरो फाइदाको रहेनछ।
[12] तब बुद्धि के रहेछ भनी जाँच्न मेरो सोचलाई लगाएँ; अनि यसै गरी पागलपन र मूर्खता पनि, जे जति गरिसकेका छन्; त्योभन्दा बढी राजाका उत्तराधिकारीले के गर्न सक्लान् र?
[13] मैले देखेँ, मूर्खताभन्दा बुद्धि उत्तम हुँदोरहेछ, जसरी अन्धकारभन्दा उज्यालो उत्तम हुन्छ!
[14] बुद्धिमान्को आँखा उसको शिरमा हुन्छ, तर मूर्खचाहिँ अँध्यारोमा हिँड्डुल गर्छ; तर मैले यो थाहा गरेँ कि, यी दुवैको अन्त्य एउटै हुँदोरहेछ।
[15] तब मैले आफ्नो मनमनै विचार गरेँ, “मूर्खमाथि जे आइपर्छ, त्यस्तै ममाथि पनि हुन्छ। तब म बुद्धिमान् भएर मलाई के लाभ भयो र?” तब मैले आफ्नो मनमनै यसो भनेँ, “यो पनि अर्थहीन रहेछ!”
[16] किनकि मूर्खको जस्तै, बुद्धिमान्को पनि सधैँभरि सम्झना गरिनेछैन; ती दिनहरू आइसकेका छन्, ती दुवै बिर्सिएका हुनेछन्; मूर्खजस्तै बुद्धिमान् मानिस पनि मर्नैपर्छ!
[17] यसैले मैले आफ्नो जीवनलाई घृणा गरेँ; किनकि सूर्यमुनि गरिएको काम मेरो निम्ति दुःखमय थियो। यी सबै अर्थहीन हुन्; बतासलाई खेदेको जस्तो मात्र हो।
[18] सूर्यमुनि मैले गरेका हरेक कामलाई मैले घृणा गर्न थालेँ; किनकि हरेक कामको फल मेरो उत्तराधिकारीको निम्ति मैले छोड्नैपर्छ।
[19] अनि कसले जान्दछ, त्यो मूर्ख हुनेछ कि बुद्धिमान्? तापनि सूर्यमुनि मैले गरेको मेरो परिश्रमको हरेक फलमाथि त्यसले नै अधिकार जमाउने रहेछ, जसमा मैले सिप र प्रयत्न लगाएको थिएँ। यो पनि अर्थहीन रहेछ।
[20] यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ।
[21] किनकि मानिसले आफ्ना बुद्धि, ज्ञान र सिप लगाएर काम गर्छ, र ती सबै अरू कोही, जसले यसको निम्ति मेहनत नै गरेको हुँदैन; उसैको निम्ति छोडेर जानुपर्दो रहेछ। यो पनि एक अर्थहीन र ठूलो दुर्भाग्य हो।
[22] सूर्यमुनि गरेका आफ्ना सारा परिश्रम, चिन्ता र प्रयासको निम्ति मानिसले के नै पो पाउँछ र?
[23] जीवनभरि त्यसको मेहनत दुःख र कष्ट मात्र हो; राति पनि त्यसको मनले विश्राम पाउँदैन। यो पनि अर्थहीन हो।
[24] मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्वरका हातबाट प्राप्त हुँदछ;
[25] किनकि उहाँविना कसले खान र आनन्द लिन सक्छ र?
[26] जुन मानिसले परमेश्वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो।