[1] फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ: मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ; र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन; अत्याचार गर्नेहरूको हातमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन।
[2] अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्।
[3] तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्ट काम देखेकै छैन।
[4] अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।
[5] मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ, र आफ्नो निम्ति आफैँ विनाश ल्याउँछ।
[6] दुई हातको परिश्रमले कमाएको र बतासलाई खेदेको दुई मुट्ठीभन्दा शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो।
[7] फेरि मैले सूर्यमुनि केही अर्थहीन कुरा देखेँ:
[8] त्यहाँ नितान्त एउटा एकलो मानिस थियो; उसको न छोरो, न त दाजुभाइ थिए। उसको परिश्रमको अन्त्य थिएन; तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्ट थिएनन्। उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु? र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?” यो पनि अर्थहीन छ, एक दुःखदायी कुरा हो।
[9] एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
[10] यदि कुनै एउटा लड्यो भने, अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; तर लड्दा उठाउने कोही नहुँदा कस्तो दुःखको कुरा हुन्छ!
[11] फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र?
[12] एकलो मानिसलाई कसैले जित्ला; तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
[13] एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्लाह लिने भन्ने कुरा पनि जान्दैन।
[14] त्यो युवक झ्यालखानाबाट छुटेर राजा बन्न आइपुगेको हुन सक्छ, अथवा उनकै राज्यमा गरिबीमा जन्मेको हुन सक्छ।
[15] तर मैले सूर्यमुनि बास गर्ने र हिँड्डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ।
[16] तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र।