Skip to content
Opens in a new window
Listen to this chapter • 5:20

[1] असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।

[2] भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु उत्तम हो; किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; जीवित मानिसले यो कुरा हृदयमा राखोस्।

[3] शोक गर्नु हाँसोभन्दा उत्तम हो; किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ।

[4] बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ, तर मूर्खको हृदय भोजको घरमा हुन्छ।

[5] मूर्खको गीत सुन्‍नुभन्दा बुद्धिमान् मानिसको हप्काइमा ध्यान दिनु उत्तम हो।

[6] मूर्खको हाँसो, भाँडामुनि आगोमा पड्कने काँडाजस्तो हो। यो पनि अर्थहीन छ।

[7] बलपूर्वक प्राप्‍त गरेको धनले बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, अनि घूसले हृदयलाई भ्रष्‍ट पार्दछ।

[8] कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो; र अहङ्कारी हुनुभन्दा सहनशील हुनु उत्तम हो।

[9] झट्टै रिस नदेखाऊ; किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ।

[10] “बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?” भनी नभन। किनकि यस्ता प्रश्नहरू गर्नु बुद्धिमानी होइन।

[11] बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो, र सूर्य देख्नेहरूलाई फाइदा हुँदछ।

[12] जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।

[13] परमेश्‍वरले के गर्नुभयो, ती विचार गर: उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ?

[14] जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्‍वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन।

[15] मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु: धर्मी आफ्नो धार्मिकतामा नष्‍ट भएको, र दुष्‍ट आफ्नो दुष्‍टतामा धेरै दिनसम्म बाँचेको।

[16] धेरै धर्मी नहोऊ, र धेरै बुद्धिमानी नहोऊ— किन आफैँलाई नाश गर्छौ?

[17] धेरै दुष्‍ट नहोऊ, र मूर्ख नहोऊ— आफ्नो समयभन्दा अगि नै किन मर्छौ?

[18] एउटा कुरोलाई समाउनु, र अर्को कुरालाई नगुमाउनु असल हो। जसले परमेश्‍वरको भय मान्दछ, त्यसले दुवैलाई पछ्याउँछ।

[19] बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकहरूभन्दा शक्तिशाली बनाउँदछ।

[20] वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन, जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन।

[21] मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ; नत्रता तिमीले आफूलाई तिम्रै सेवकले तिमीलाई सरापेको सुन्‍नेछौ;

[22] किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ, धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ।

[23] मैले यी सबै कुरा बुद्धि लगाएर जाँच गरेँ। अनि मैले भनेँ, “मैले बुद्धिमान् हुने निश्‍चय गरेको छु”— तर यो मबाट टाढै रह्‍यो;

[24] जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ— कसले त्यो पत्ता लगाउन सक्छ र?

[25] यसैकारण मैले बुद्धिलाई बुझ्न, खोज्न र जाँच गर्न, र हरेक वस्तुको कारण बुझ्नमा आफ्नो मन लगाएँ; अनि दुष्‍टताको मूर्खता र मूर्खताको पागलपन बुझ्न चाहेँ।

[26] मैले यो पत्ता लगाएँ, मृत्युभन्दा तितो त्यो स्त्री हो, जो एक पासोजस्तै हो; जसको हृदय एउटा धराप र जसका हात साङ्लो हो। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने व्यक्ति यस्तो स्त्रीबाट उम्कनेछ, तर पापीलाई त्यसले जालमा पार्नेछे।

[27] उपदेशक भन्दछन्, “हेर, मैले यो कुरा पत्ता लगाएको छु: “हरेक वस्तुको कारण बुझ्नलाई, एउटासँग अर्को कुरा थप्दै,

[28] जब मैले खोजिरहेको थिएँ, तर भेट्टाएको थिइनँ, एक हजार मानिसबीच एउटा धर्मी पुरुष भेट्टाएँ; तर सम्पूर्ण स्त्रीहरू बीचमा त एउटै पनि धर्मी स्त्री भेट्टाइनँ।

[29] मैले यो मात्र थाहा पाएँ: परमेश्‍वरले मानव-जातिलाई सोझो बनाउनुभएको हो; तर तिनीहरूचाहिँ अनेक योजनाहरू खोज्नका पछि लागेका छन्।”

उपदेशक — Chapters