Skip to content
Opens in a new window
Listen to this chapter • 3:40

[1] जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्‍ट पार्दछ।

[2] बुद्धिमान्‌को हृदय सही मार्गमा लाग्दछ, तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ।

[3] बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई समझको अभाव हुन्छ; र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ।

[4] तिम्रो शासक तिमीसित रिसाए तापनि आफ्नो पद नछोड; शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ।

[5] सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो त्रुटी एउटा शासकबाट हुन्छ:

[6] मूर्खलाई धेरै उच्‍च पदमा नियुक्त गरिन्छ; तर धनी निम्न दर्जामा राखिन्छ।

[7] मैले कमाराहरूलाई घोडाहरूमाथि सवार भएका, तर भारदारहरूचाहिँ कमाराहरूझैँ पैदल हिँडिरहेका देखेको छु।

[8] जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ; जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्‍न सक्छ।

[9] ढुङ्गाको खानी खन्‍ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ; काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ।

[10] यदि बन्चरो बोधो छ, र त्यसको धार उध्याइएको छैन भने, ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सिपले सफलता ल्याउँछ।

[11] यदि सर्पलाई लट्ठ्याउन अगि नै त्यसले डस्यो भने, सपेरालाई केही लाभ हुँदैन।

[12] बुद्धिमान्‌का बोलीहरू अनुग्रही हुन्छन्, तर मूर्खहरू चाहिँ आफ्नै ओठहरूद्वारा नाश हुन्छन्।

[13] त्यसले सुरुमा नै मूर्ख कुरा गर्छ; अन्त्यमा त्यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्छ;

[14] अनि मूर्खले धेरै बोल्छ। त्यसले के-कसो भन्‍ने हो, सो कसैले जान्दैन; त्यसपछि के हुने हो, सो कसले त्यसलाई भन्‍न सक्छ र?

[15] मूर्खको कामले उसैलाई थकाउँछ; त्यसले सहर जाने बाटोसमेत चिन्दैन।

[16] धिक्‍कार छ, त्यो देशलाई, जसको राजा कमारा हो, र जसका राजकुमारहरू बिहानै भोज गर्न बस्छन्।

[17] त्यो देश धन्यको हो, जसका राजा कुलीन वंशका हुन्, र जसका राजकुमारहरू उचित समयमा ठिक भोजन गर्छन्, तिनीहरू शक्ति लाभ गर्नलाई भोजन गर्छन्, मतवाला हुनलाई होइन।

[18] अल्छे मानिसको घरको धुरी भत्कन्छ; र हातहरूका सुस्तपनाले घरको छानो चुहिन्छ।

[19] भोज खुशीयालीको लागि तयार गरिन्छ; दाखमद्यले जीवनलाई आनन्दित गराउँछ; र पैसाले यी सबै थोक दिन्छ।

[20] राजालाई आफ्ना मनमा समेत निन्दा नगर; अथवा आफ्ना सुत्ने कोठामा धनी मानिसलाई नसराप! किनकि आकाशका पक्षीले समेत तिमीले गरेका कुरा लगिदेला, र त्यो उड्ने पक्षीले तिमीले भनेका कुरा सुनाइदेला।

उपदेशक — Chapters