Skip to content
Opens in a new window
Listen to this chapter • 4:21

[1] हरेक कुराका लागि समय छ; र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ:

[2] जन्मने एउटा समय र मर्ने एउटा समय; रोप्ने एउटा समय र उखेल्ने एउटा समय।

[3] मार्ने एउटा समय र निको पार्ने एउटा समय; भत्काउने एउटा समय र निर्माण गर्ने एउटा समय।

[4] रुने एउटा समय र हाँस्‍ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय।

[5] ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय।

[6] खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय।

[7] च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्‍ने एउटा समय र बोल्ने एउटा समय।

[8] प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय; युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय।

[9] काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र?

[10] मानव जातिहरूमाथि परमेश्‍वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।

[11] सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्।

[12] म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन।

[13] आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्‍वरको दान हो।

[14] म जान्दछु, परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्‍वरले यसो गर्नुहुन्छ।

[15] जे भइरहेको छ, त्यो अगिबाटै भइसकेको थियो; र जे हुनेछ, त्यो पनि अगिबाटै भइसकेको थियो; परमेश्‍वरले बितेका कुराहरू ल्याउनुहुन्छ।

[16] त्यसबाहेक मैले सूर्यमुनि अरू यस्ता कुरा देखेँ: न्यायको ठाउँमा दुष्‍टता; धार्मिकताको ठाउँमा दुष्‍टता।

[17] मैले आफ्नो मनमनै भनेँ, “परमेश्‍वरले धर्मी र अधर्मी दुवैलाई न्यायमा ल्याउनुहुनेछ; किनकि हरेक कृयाकलापको उचित समय हुनेछ; र हरेक कामको न्यायको उचित समय हुनेछ।”

[18] मैले मनमै यो पनि विचार गरेँ, “मानिसलाई चाहिँ परमेश्‍वरले जाँच गर्नुहुन्छ, ताकि तिनीहरू जनावरजस्तै छन् भनी बुझ्न सकून्!

[19] मानिसको अन्त्य पनि जनावरको जस्तै हुन्छ; दुवैको एउटै अन्त्य हुन्छ, जसरी एउटा मर्छ, अर्को पनि त्यसरी नै मर्छ। दुवैको सास एउटै हो; मानिसलाई जनावरको भन्दा बढी केही लाभ छैन। सबै कुरा अर्थहीन हुन्।

[20] सबै एकै ठाउँमा जान्छन्; सबै धुलोबाट आउँछन्, र धुलोमै फर्किजान्छन्।

[21] मानिसको आत्मा उँभोतिर, र पशुको आत्माचाहिँ उँधो पृथ्वीतिर जान्छ भनेर कसले जान्दछ र?”

[22] यसरी मैले देखेँ, मानिसलाई आफ्नो काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही रहेनछ; किनभने त्यही नै उसको भाग हो। उसको मृत्युपछि के हुने हो, त्यो देखाउनलाई कसले उसलाई ल्याउन सक्छ र?

उपदेशक — Chapters