Skip to content
Opens in a new window
Listen to this chapter • 3:24

[1] पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे, र धेरै जना गिल्बो पर्वतमा मारिए।

[2] पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे।

[3] शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब तिनीहरूले तिनलाई गम्भीर घाइते बनाए।

[4] शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्‍ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।

[5] जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्‍यो।

[6] यसरी शाऊल र तिनका तीन जना छोराहरू र हतियार बोक्ने त्यही दिन एकसाथ मरे।

[7] जब त्यस बेँसीमा भएका र यर्दनपारि भएका इस्राएलीहरूले इस्राएलका सेना भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। तब पलिश्तीहरू आएर ती सहरहरूलाई कब्जा गरे।

[8] भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका तीन छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।

[9] तिनीहरूले शाऊलको शिर काटे र तिनका हतियारहरू लिए। अनि तिनीहरूले पलिश्तीहरूको देशभरि तिनीहरूका मूर्तिहरूका मन्दिरहरूमा र तिनीहरूका मानिसहरूको बीचमा यो खबर घोषणा गर्नलाई दूतहरू पठाए।

[10] तिनीहरूले शाऊलका हतियारहरू अश्तोरेतको मन्दिरमा राखे; अनि तिनको शरीरलाई बेथ-शानको भित्तामा बाँधिदिए।

[11] जब याबेश-गिलादका मानिसहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए, सो कुरा सुने;

[12] तब तिनीहरूका वीर मानिसहरू रातभरि हिँडेर बेथ-शानमा पुगे। तिनीहरूले शाऊल र तिनका छोराहरूका शरीरलाई बेथ-शानको भित्ताबाट निकाले र याबेश सहरमा गएर तिनीहरूलाई त्यहाँ जलाइदिए।

[13] त्यसपछि तिनीहरूले तिनीहरूका हड्डीहरू लगे र तिनीहरूलाई याबेशमा एउटा झ्याउको बोटको फेदमा गाडिदिए। अनि तिनीहरूले सात दिनसम्म उपवास बसे।

1 शमूएल — Chapters