Skip to content
Opens in a new window
Listen to this chapter • 9:57

[1] शमूएलले शाऊललाई भने, “तिमीलाई याहवेहको जाति इस्राएलमाथि राजा अभिषेक गर्न भनी उहाँले मलाई नै पठाउनुभयो। यसकारण अब याहवेहबाट आएको सन्देश ध्यानपूर्वक सुन!

[2] सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरू इजिप्टबाट आउँदा बाटोमा तिनीहरूलाई ढुकेर आक्रमण गर्ने अमालेकीहरूलाई म दण्ड दिनेछु।

[3] अब गएर अमालेकीहरूलाई आक्रमण गर्, र तिनीहरूका सबै कुराहरूलाई सम्पूर्ण रूपमा नाश गर्। तिनीहरूलाई बाँकी नराख्। तिनीहरूका पुरुष, स्त्री, छोराछोरी र शिशुहरू, गाईबस्तु र भेडाबाख्रा, ऊँट र गधा सबैलाई नष्‍ट गर्।’ ”

[4] यसकारण शाऊलले मानिसहरूलाई तेलैममा भेला गराए। तिनीहरू दुई लाख पैदल सेनाहरू र यहूदाबाट दश हजार मानिसहरू थिए।

[5] शाऊल अमालेकको सहरमा गएर घाटीमा ढुकेर बसे।

[6] तब तिनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोडेर भागिहाल, ताकि म तिमीहरूलाई तिनीहरूसँगै नाश नपारूँ; किनकि तिमीहरूले इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा तिनीहरूलाई दया देखाएका थियौ।” यसकारण केनीहरू अमालेकीहरूलाई छोडेर भागे।

[7] तब शाऊलले हवीलादेखि इजिप्टको पूर्वमा पर्ने सिमाना नजिक शूरसम्मै अमालेकीहरूलाई आक्रमण गरे।

[8] तिनले अमालेकीहरूका राजा अगागलाई चाहिँ जिउँदै पक्रे, र तिनका सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले नष्‍ट गरे।

[9] तर शाऊल र तिनका सेनाहरूले अगागलाई, साथै त्यसका असल भेडाबाख्रा र गाईबस्तुहरू, बलिया साँढेहरू र थुमाहरू, र हरेक असल कुराहरूलाई चाहिँ जोगाए। इस्राएलीहरूले यिनीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नलाई राजी भएनन्। तर हरेक बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले पूर्ण रूपमा नष्‍ट गरे।

[10] त्यसपछि याहवेहको वचन शमूएलकहाँ आयो:

[11] “मैले शाऊललाई राजा तुल्याएकोमा म दुःखित भएको छु। किनकि त्यो मदेखि तर्किगएको छ; अनि मेरो वचनलाई त्यसले पालन गरेको छैन।” शमूएल अति दुःखित भए, र याहवेहसँग रातभरि बिन्ती गरिरहे।

[12] शमूएल बिहानै उठेर शाऊललाई भेट्न गए, तर तिनलाई यसो भनियो, “शाऊल कर्मेलमा गएका छन्। त्यहाँ तिनले आफ्नो सम्मानका निम्ति एउटा स्मारक खडा गरे। अनि तिनी फर्केर गिलगालतिर झरेका छन्।”

[13] जब शमूएल शाऊलकहाँ पुगे, तब तिनले भने, “याहवेहले तपाईंलाई आशिष् देऊन्! मैले याहवेहका आदेशको पालन गरेको छु।”

[14] तर शमूएलले भने, “त्यसो भए मेरो कानमा भेडाहरू कराएको आवाजचाहिँ के हो? अनि मैले गाईगोरुहरू कराएको आवाज सुनेको चाहिँ के हो?”

[15] शाऊलले भने, “सेनाहरूले अमालेकीहरूबाट ल्याएका हुन्। तिनीहरूले भेडाबाख्रा र गाईबस्तुहरूबाट असल-असलचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति बलि चढाउन जोगाइराखेका छन्। तर बाँकी सबैलाई हामीले पूर्ण रूपमा नष्‍ट गर्‍यौँ।”

[16] तब शमूएलले शाऊललाई भने, “चुप लाग! याहवेहले मलाई हिजो राति के भन्‍नुभयो, त्यो तिमीलाई बताउनेछु।” शाऊलले भने, “भन्‍नुहोस्!”

[17] शमूएलले भने, “यद्यपि एक समयमा तिमीले आफूलाई आफ्नै दृष्‍टिमा सानो ठानेका थियौ; तापनि के तिमी इस्राएलका कुलहरूका अगुवा भएनौ र? याहवेहले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो।

[18] अनि उहाँले तिमीलाई जिम्मेवारी दिएर पठाउनुहुँदा यसो भन्‍नुभयो, ‘जाऊ, र यी दुष्‍ट मानिसहरू, अर्थात् अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नू। तिनीहरूका नामनिशानै नमेटुन्जेल तिनीहरूसँग युद्ध गर्नू।’

[19] तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्‍टिमा किन दुष्‍ट काम गर्‍यौ?”

[20] शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ।

[21] सेनाहरूले लुटका मालबाट भेडा र गाईबस्तु लिए। अनि त्यसबाट असलहरूचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति गिलगालमा बलिदानका निम्ति समर्पित गरिएका छन्।”

[22] तर शमूएलले जवाफ दिए: “के याहवेह होमबलि र बलिदानहरूमा भन्दा उहाँको वचन पालन गरेकोमा प्रसन्‍न हुनुहुन्‍न र? आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो, अनि उहाँको वचन मान्‍नु थुमाको बोसोभन्दा उत्तम हो।

[23] विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनुचाहिँ मूर्तिपूजाको दुष्‍टता जस्तै हो। तिमीले याहवेहको वचनलाई इन्कार गरेका छौ, यसकारण उहाँले तिमीलाई राजाको रूपमा इन्कार गर्नुभएको छ।”

[24] तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु। मैले याहवेहको आज्ञा र तपाईंका आदेशहरू उल्‍लङ्घन गरेको छु। म मानिसहरूसँग डराएँ। त्यसैले मैले तिनीहरूले गर्न मन लागेको कुरा गर्न दिएँ।

[25] अब म तपाईंसँग बिन्ती गर्छु, मेरो पाप क्षमा गरेर मसँग फर्कनुहोस्, ताकि म याहवेहको आराधना गर्न सकूँ!”

[26] तर शमूएलले तिनलाई भने, “म तिमीसँग फर्केर जानेछैनँ। तिमीले याहवेहको वचनलाई तिरस्कार गरेका छौ, र याहवेहले तिमीलाई इस्राएलको राजाको रूपमा इन्कार गर्नुभएको छ!”

[27] शमूएल जब फर्केर जान लाग्दैथिए, तब शाऊलले तिनको लबेदाको किनार समाते, र त्यो च्यातियो।

[28] शमूएलले तिनलाई भने, “याहवेहले तिमीबाट आज इस्राएलको राज्य च्यात्नुभएको छ, र त्यसलाई तिम्रो कुनै एउटा छिमेकीलाई, अर्थात् तिमीभन्दा असल व्यक्तिलाई दिनुभएको छ।

[29] उहाँ, जो इस्राएलको महिमा हुनुहुन्छ; उहाँले झूट बोल्नुहुन्‍न, अर्थात् उहाँले आफ्नो मन बदल्नुहुन्‍न। किनकि उहाँ मानिस हुनुहुन्‍न, जसले आफ्नो मन बदल्छ।”

[30] तब शाऊलले जवाफ दिए, “मैले पाप गरेको छु; तर पनि मलाई कृपा गरी मेरा मानिसहरूका प्रधानहरू र इस्राएलको सामु इज्जत राखिदिनुहोस्; र मसित फर्कनुहोस्, ताकि म याहवेह तपाईंका परमेश्‍वरलाई आराधना गर्न सकूँ।”

[31] यसकारण शमूएल शाऊलसँग फर्केर गए। अनि शाऊलले याहवेहलाई आराधना गरे।

[32] तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याओ।” अगाग साङ्लाले बाँधिएर आए। अनि तिनले मनमा सोचेका थिए, “निश्‍चय नै मृत्युको तितोपना मबाट हटेर गएको छ।”

[33] तर शमूएलले त्यसलाई भने, “तिम्रो तरवारले स्त्रीहरूलाई निःसन्तान बनाएझैँ, तिम्री आमा पनि स्त्रीहरूका बीचमा निःसन्तान हुनेछिन्।” अनि गिलगालमा याहवेहकै सामु शमूएलले अगागलाई मारे।

[34] तब शमूएल रामातिर गए; तर शाऊलचाहिँ तिनको आफ्नै घर गेबामा गए।

[35] शमूएलले शाऊलका निम्ति शोक गरे; अनि शमूएल बाँचुन्जेल तिनी शाऊललाई भेट्न फेरि कहिल्यै गएनन्। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा याहवेहलाई पछुतो भयो।

1 शमूएल — Chapters