Skip to content
Opens in a new window
Listen to this chapter • 4:32

[1] अम्मोनी नाहाशले याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।”

[2] तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।”

[3] याबेशका प्रधानहरूले तिनलाई भने, “हामीलाई सात दिनको समय दिनुहोस्, र हामी इस्राएलभरि दूतहरू पठाउन सकौँ। यदि हामीलाई छुटकारा गर्ने कोही आएन भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौँ।”

[4] जब शाऊलको सहर गेबामा याबेशका दूतहरू आएर ती शर्तहरू मानिसहरूलाई सुनाए; तब तिनीहरू सबै अति ठूलो सोरले रोए।

[5] त्यसै बेला शाऊलचाहिँ आफ्नो खेतबाट आफ्ना गोरुहरूका पछि-पछि आइरहेका थिए, र तिनले सोधे, “सबै मानिसहरूलाई के भयो? यिनीहरू किन रोइरहेका छन्?” तब तिनीहरूले याबेशका मानिसहरूले भनेका कुरा तिनलाई दोहोर्‍याएर भनिदिए।

[6] जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्‍वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए।

[7] तिनले एक हल गोरु लिए, र तिनलाई टुक्रा-टुक्रा पारे, र दूतहरूसँग ती टुक्राहरू इस्राएलभरि पठाए, र यसरी घोषणा गरे, “शाऊल र शमूएलका पछि नलाग्ने हरेक मानिसहरूका गोरुहरूको दशा यस्तै हुनेछ।” तब याहवेहको आतङ्क मानिसहरूमा छायो; र तिनीहरू एक भएर निस्के।

[8] जब शाऊलले तिनीहरूलाई बेजेकमा एकसाथ भेला गराए, तब त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका मानिसहरू तीस हजार भेला भएका थिए।

[9] तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई भन, ‘भोलि मध्यदिनभित्रै तिमीहरूको उद्धार हुनेछ।’ ” जब ती दूतहरू गएर याबेश-गिलादका मानिसहरूलाई यो समाचार दिए, तब तिनीहरू साह्रै उत्साहित भए।

[10] याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।”

[11] भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए; रातको अन्तिम पहरमा तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे, र मध्यदिनसम्म नै तिनीहरूलाई मारे। बाँचेकाहरू यसरी तितरबितर भए कि, ती भाग्नेहरू दुई जना एकसाथ भेट हुनै सकेनन्।

[12] मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू को हुन्, जसले ‘के शाऊलले हामीमाथि शासन गर्छ र?’ भनेर सोधेका थिए। तिनीहरूलाई हामीकहाँ ल्याउनुहोस्; अनि हामी तिनीहरूलाई मार्नेछौँ।”

[13] तर शाऊलले भने, “आज कोही पनि मारिनेछैन; किनकि आजको दिन याहवेहले इस्राएलीहरूलाई उद्धार गर्नुभएको छ।”

[14] तब शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगालमा जाऔँ, र त्यहाँ पुनः शाऊललाई राजा घोषणा गरौँ।”

[15] यसकारण सबै मानिसहरू गिलगालमा गए। अनि याहवेहको उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। त्यहाँ तिनीहरूले याहवेहको सामु मेलबलि चढाए। अनि शाऊल र सारा इस्राएलीहरूले ठूलो हर्षको उत्सव मनाए।

1 शमूएल — Chapters