Skip to content
Opens in a new window
Listen to this chapter • 6:26

[1] अनि शमूएलको वचन इस्राएलभरि नै आयो। अब इस्राएलीहरू पलिश्तीहरूको विरुद्धमा लडाइँ गर्न निस्के। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले चाहिँ अपेकमा छाउनी हाले।

[2] पलिश्तीहरूले आफ्ना सेनालाई इस्राएलीहरूसँग युद्ध गर्नलाई खटाए। लडाइँ बढ्दै जाँदा पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। अनि तिनीहरूले लडाइँको मैदानमा चार हजार इस्राएलीहरूलाई मारे।

[3] जब योद्धाहरू छाउनीमा फर्के, तब इस्राएलका प्रधानहरूले सोधे, “याहवेहले पलिश्तीहरूको सामु किन हामीलाई हराउनुभयो? हामी शीलोबाट याहवेहको करारको सन्दुक ल्याऔँ, ताकि उहाँ हामीसँग जाऊन्, र हामीलाई हाम्रा शत्रुहरूबाट बचाऊन्।”

[4] यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र तिनीहरूले करूबहरूका बीच विराजमान हुनुहुने सेनाहरूका याहवेहको करारको सन्दुक फर्काएर ल्याए। अनि एलीका दुई छोराहरू होप्नी र पीनहास परमेश्‍वरको करारको सन्दुकसँग त्यहाँ थिए।

[5] जब याहवेहको करारको सन्दुक छाउनीमा आयो, तब सारा इस्राएलीहरू जमिन नै हल्‍लिने गरी ठूलो सोरले चिच्याए।

[6] त्यो सोर सुनेर पलिश्तीहरूले सोधे, “हिब्रूहरूको छाउनीमा भएको यो चर्को सोर के हो?” जब याहवेहको सन्दुक छाउनीमा आएको छ भनी तिनीहरूले थाहा पाए,

[7] तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्‍टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन।

[8] हाय! अब हामी सकिने भयौँ! यी शक्तिशाली देवताका हातबाट हामीलाई कसले छुटाउला? तिनीहरू त्यही देवता हुन्, जसले इजिप्टियनहरूलाई उजाडस्थानमा सबै प्रकारका विपत्तिहरूले प्रहार गरेका थिए।

[9] हे पलिश्तीहरू हो, बलिया होओ! मर्दझैँ खडा होओ; नत्रता जसरी हिब्रूहरू तिमीहरूका अधीनमा रहेका थिए, त्यसरी नै तिमीहरू ती हिब्रूहरूका दास हुनेछौ। मर्दझैँ खडा होओ, र लडाइँ गर।”

[10] यसकारण पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर हरेक मानिस आ-आफ्ना छाउनीतिर भागे। अनि त्यहाँ भयङ्ककर काटमार भयो; इस्राएलीहरूले तीस हजार सेनाहरूलाई गुमाए।

[11] परमेश्‍वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे।

[12] त्यही दिन बेन्यामीन कुलको एक जना मानिस लडाइँको मैदानबाट दौडेर शीलोमा आयो, जसको लुगा च्यात्तिएको र शिरमा माटो लागेको थियो।

[13] जब त्यो मानिस आइपुग्यो, तब त्यहाँ एलीचाहिँ परमेश्‍वरको सन्दुकको कारण विचलित भएर बाटोको छेउमा आफ्नो कुर्सीमाथि बसेर हेरिरहेका थिए। अनि त्यो मानिस सहरभित्र पस्यो, र जब त्यसले जे भएको थियो, सो सबै भन्यो, तब सारा सहरमा चीत्कार मच्‍चियो।

[14] “यो केको खैलाबैला भइरहेको छ?” भनेर जब एलीले त्यो बिलौना सुनेर सोधे, तब त्यो मानिस एलीकहाँ हतारिँदै गयो।

[15] एलीचाहिँ अन्ठानब्बे वर्ष पुगेका वृद्ध र आँखा पनि देख्न नसक्ने भएका थिए।

[16] अनि त्यस मानिसले एलीलाई भन्यो, “म लडाइँको मैदानबाट भर्खरै आएको हुँ; म त्यहाँबाट आज नै भागेर आएको हुँ।” एलीले सोधे, “मेरो छोरा त्यहाँ के भयो त?”

[17] त्यो समाचार ल्याउने मानिसले भन्यो, “इस्राएलीहरूले पलिश्तीहरूदेखि भाग्नुपर्‍यो, र त्यहाँ ठूलो संख्यामा सेनाहरू मारिए। अनि हजुरका दुवै छोरा होप्नी र पीनहास पनि मरे। अनि परमेश्‍वरको करारको सन्दुक पनि खोसियो।”

[18] जब त्यो मानिसले परमेश्‍वरको करारको सन्दुकको बारेमा बतायो, तब एली ढोकाको छेउमा आफ्नो कुर्सीबाट पछिल्तिर लडे, र तिनको घिच्रो भाँचियो र तिनी मरे। किनकि तिनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। तिनी चालीस वर्षसम्म इस्राएलका अगुवा भएका थिए।

[19] तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिईन्, र उनको सुत्केरी हुने समय नजिकै थियो। जब तिनले परमेश्‍वरको करारको सन्दुक खोसिएको अनि आफ्ना ससुरा र पतिको मृत्यु भएको खबर सुनिन्; तब तिनलाई बेथा लाग्यो, र तिनले बालक जन्माइन्। तर तिनलाई बेथाले साह्रै पार्‍यो।

[20] जब तिनी मर्नै लागेकी थिईन्, तब तिनलाई सुँडेनीहरूले भने, “हताश नहोऊ; तिमीले एउटा छोरा जन्माएकी छौ।” तर तिनले न जवाफ दिइन्, न त त्यस कुरामा ध्यान नै दिइन्।

[21] तिनले यसो भनेर बालकको नाम इकाबोद राखिन्, “इस्राएलबाट महिमा हट्यो,” यो परमेश्‍वरको सन्दुक खोसिएको अनि तिनका ससुरा र पतिको मृत्यु भएको कारणले थियो।

[22] तिनले भनिन्, “इस्राएलबाट महिमा हट्यो; किनकि परमेश्‍वरको सन्दुक खोसिएको छ।”

1 शमूएल — Chapters