Skip to content
Opens in a new window
Listen to this chapter • 5:07

[1] बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो।

[2] एक रात एली आफ्नो कोठामा ढल्किरहेका थिए; तिनका आँखा धमिलो भएर राम्ररी देख्न पनि नसक्ने भइसकेका थिए।

[3] परमेश्‍वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए।

[4] तब याहवेहले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहाँ छु।”

[5] अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के।

[6] याहवेहले फेरि पनि बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” एलीले भने, “मेरो छोरा, मैले तँलाई बोलाएको होइनँ; जा, गएर सुत्।”

[7] तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन।

[8] तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तब एलीले त्यस केटोलाई याहवेहले बोलाउनुभएको रहेछ भनी थाहा पाए।

[9] यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के।

[10] याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।”

[11] याहवेहले शमूएललाई भन्‍नुभयो: “हेर्, म इस्राएलमा यस्तो गर्न जाँदैछु, जुन कुराले सुन्‍नेहरूका कान झन्झनाउनेछन्।

[12] त्यस बेला मैले एली र त्यसको परिवारको विरुद्धमा भनेका हरेक कुरा सुरुदेखि अन्त्यसम्म नै पूरा गर्नेछु।

[13] किनकि मैले त्यसलाई म सदासर्वदाको लागि त्यसको परिवारको न्याय गर्नेछु भनेर भनिसकेको छु। किनकि त्यसका छोराहरूले गरेको पाप र त्यसका छोराहरूले परमेश्‍वरलाई निन्दा गर्दैछन् भनेर जान्दाजान्दै पनि त्यसले तिनीहरूलाई रोकेन।

[14] यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्‍चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ”

[15] शमूएल बिहानसम्मै ढल्किरहे, र त्यसपछि याहवेहको भवनका ढोकाहरू खोले। एलीलाई दर्शनको बारेमा भन्‍न उनी डराए,

[16] तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।” शमूएलले जवाफ दिए, “हजुर, म यहाँ छु।”

[17] एलीले तिनलाई सोधे, “उहाँले तँलाई के भन्‍नुभयो? मसँग नलुका। उहाँले तँलाई भन्‍नुभएको कुनै पनि कुरा यदि तैँले मसँग लुकाइस् भने उहाँले तँसँग कठोर व्यवहार गरून्।”

[18] यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यही गरून्।”

[19] जब शमूएल बढ्दै गए, तब याहवेह तिनीसित हुनुहुन्थ्यो, र उहाँले शमूएलको एउटै पनि वचन व्यर्थ जान दिनुभएन।

[20] अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएललाई याहवेहका अगमवक्ता भनी चिने।

[21] याहवेह शीलोमा निरन्तर देखा पर्नुभयो; र त्यहाँ उहाँले वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।

1 शमूएल — Chapters