Skip to content
Opens in a new window
Listen to this chapter • 6:09

[1] शाऊल राजा हुँदा तीस वर्षका थिए। तिनले इस्राएलमाथि बयालीस वर्षसम्म राज्य गरे।

[2] शाऊलले इस्राएलबाट तीन हजार मानिसहरूलाई चुने; जसमा दुई हजार शाऊलसँग मिकमाशमा र बेथेलको पहाडी मुलुकमा थिए। अनि एक हजारचाहिँ बेन्यामीनको गेबामा जोनाथनसँग थिए। बाँकी मानिसहरूलाई चाहिँ शाऊलले आ-आफ्ना घरमा पठाइदिए।

[3] जोनाथनले गेबामा भएका पलिश्तीहरूको चौकीमाथि आक्रमण गरे। जब पलिश्तीहरूले यसको बारेमा सुने, तब “हिब्रूहरूले सुनून्!” भनेर शाऊलले देशभरि तुरही फुक्न लगाए।

[4] यसकारण सबै इस्राएलले यस्तो खबर सुने; “शाऊलले पलिश्तीहरूका चौकीमाथि आक्रमण गरेका छन्, र घृणित शत्रु भएका छन्।” तब मानिसहरूलाई शाऊलको सामु गिलगालमा भेला हुन बोलाइयो।

[5] पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न तीन हजार रथहरू, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवासरी योद्वाहरू लिएर भेला भए। तिनीहरू माथि गएर बेथ-आवेनको पूर्वपट्टि मिकमाशमा छाउनी हाले।

[6] जब इस्राएलका मानिसहरूले आफ्नो अवस्था सङ्कष्‍टपूर्ण भएको, र तिनीहरूका सेनाहरू दबाबमा परेको देखे, तब तिनीहरू गुफा र पोथ्राहरूमा, चट्टानहरूमा, खाडल अनि इनारहरूमा लुके।

[7] कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए। शाऊलचाहिँ गिलगालमा बसिरहे। अनि तिनीसँग भएका सम्पूर्ण दलहरू डरले काँपिरहेका थिए।

[8] शमूएलले निर्देशन दिएझैँ सात दिनसम्म शाऊलले पर्खे; तर शमूएल गिलगालमा आएनन्। अनि शाऊलका मानिसहरू तितरबितर हुन थाले।

[9] यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए।

[10] शाऊलले बलिदान चढाइसक्नेबित्तिकै शमूएल आइपुगे। अनि शाऊल तिनलाई अभिवादन गर्नलाई गए।

[11] तर शमूएलले सोधे, “तिमीले के गरेको?” शाऊलले जवाफ दिए, “मैले मानिसहरू तितरबितर भइरहेका देखेँ। अनि तपाईंले भन्‍नुभएको समयमा तपाईं पनि आउनुभएन। अनि पलिश्तीहरू पनि मिकमाशमा भेला भइरहेका थिए।

[12] त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।”

[13] शमूएलले शाऊललाई भने, “तिमीले मूर्ख काम गर्‍यौ। तिमीले याहवेह तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञापालन गरेनौ। यदि तिमीले उहाँको आज्ञापालन गरेको भए उहाँले इस्राएलमाथि तिम्रो राज्य सधैँको निम्ति स्थापित गर्नुहुनेथियो।”

[14] तर अब तिम्रो राज्य टिक्नेछैन। याहवेहले आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ। अनि तिनलाई उहाँका मानिसहरूको अगुवा नियुक्त गर्नुभएको छ; किनकि तिमीले याहवेहको आज्ञापालन गरेनौँ।

[15] तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।

[16] शाऊल र तिनका छोरा जोनाथन अनि तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गेबामा बसेका थिए। पलिश्तीहरूले चाहिँ मिकमाशमा छाउनी हालेर बसेका थिए।

[17] पलिश्तीहरूका छाउनीबाट लुटपाट गर्नेहरूका तीन दल बाहिर निस्के। एउटा दल शूआलको इलाकामा भएको ओप्रातिर लाग्यो;

[18] अर्को दल बेथ-होरोनतिर र तेस्रो दलचाहिँ उजाडस्थानतिर फर्केको सबोईमको बेँसीमाथिको सिमानातिर लाग्यो।

[19] सम्पूर्ण इस्राएल राष्ट्रमा एक जना पनि लोहार पाइँदैनथ्यो। किनकि पलिश्तीहरूले भनेका थिए, “हिब्रूहरूले तरवार र भालाहरू बनाउन नपाऊन्!”

[20] यसकारण सारा इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू उध्याउन पलिश्तीहरूकहाँ नै जानुपर्थ्यो।

[21] फाली र कोदालो धारिलो बनाउन दुई तिहाइ शेकेल तिर्नुपर्थ्यो। अनि अङ्कुसे र बन्चरो उध्याउन एक तिहाइ शेकेल तिर्नुपर्थ्यो।

[22] यसकारण लडाइँको दिनमा शाऊल र जोनाथनसँग भएका कुनै पनि योद्धाको हातमा तरवार र भाला थिएन। तर शाऊल र तिनका छोरा जोनाथनसँग मात्र हतियार थियो।

[23] त्यस बेला पलिश्तीहरूको एउटा समूह मिकमाशको घाटीमा गयो।

1 शमूएल — Chapters