Skip to content
Opens in a new window
Listen to this chapter • 6:50

[1] याहवेहले शमूएललाई भन्‍नुभयो, “तँ शाऊलका निम्ति कति दिनसम्म शोक गर्छस्? किनकि मैले त्यसलाई इस्राएलको राजाको रूपमा इन्कार गरिसकेको छु। अब तँसित भएको त्यो सिङमा तेल भरेर आफ्नो बाटो लाग्। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। मैले त्यसका छोराहरूमध्ये एक जनालाई राजा चुनिसकेको छु।”

[2] तर शमूएलले भने, “म कसरी जान सक्छु? यदि शाऊलले यो कुरा सुन्यो भने उसले मलाई मार्नेछ।” याहवेहले भन्‍नुभयो, “आफूसँग एउटा कोरली लिएर जा, र यसो भन् ‘म याहवेहलाई बलि चढाउन आएको हुँ।’

[3] यिशैलाई बलिदानमा बोलाउनू, र तैँले के गर्नुपर्ने हो, सो म तँलाई बताउनेछु। तैँले मेरो निम्ति त्यस व्यक्तिलाई अभिषेक गर्नू, जसलाई मैले सङ्केत गर्नेछु।”

[4] याहवेहले भन्‍नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?”

[5] शमूएलले जवाफ दिए, “हजुर, म शान्तिसाथ आएँ; म याहवेहलाई बलि चढाउनलाई आएको हुँ। आफैँलाई शुद्ध पार, र बलिदानका निम्ति मसँग आऊ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध पारे; अनि तिनीहरूलाई बलिदानको लागि निम्तो दिए।

[6] जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्‍चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।”

[7] तर याहवेहले शमूएललाई भन्‍नुभयो, “त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्‍न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।”

[8] तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्‍नुभएको छैन।”

[9] तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्‍नुभएको छैन।”

[10] यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्‍नुभएको छैन।”

[11] यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्‍नेछैनौँ।”

[12] यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। तब याहवेहले भन्‍नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।”

[13] यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए।

[14] अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो।

[15] शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्‍नुहोस्, परमेश्‍वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ।

[16] हाम्रा मालिकले आफ्ना सेवकहरूलाई वीणा बजाउन सक्ने कसैलाई खोजेर ल्याउने आज्ञा दिनुहोस्। अनि परमेश्‍वरबाटको त्यो हानिकारक आत्मा तपाईंमाथि आउँदा त्यसले वीणा बजाओस्, तब तपाईंलाई आराम हुनेछ।”

[17] यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग वीणा बजाउने एक जना व्यक्तिलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।”

[18] तब ती सेवकहरूमध्ये एक जनाले भने, “मैले बेथलेहेममा यिशैका एक जना छोरालाई देखेको छु, जो बजाउनमा पोख्त छन्। तिनी साहसी र वीर योद्धा पनि हुन्। बोल्नमा सिपालु र हेर्नमा सुन्दर पनि छन्। अनि याहवेह तिनीसँग हुनुहुन्छ।”

[19] तब शाऊलले यिशैकहाँ दूतहरू पठाएर भने, “भेडाहरू चराउने तपाईंको छोरो दावीदलाई मकहाँ पठाइदिनुहोस्।”

[20] यसकारण यिशैले रोटीहरू, एक मशक दाखमद्य र एउटा कलिलो पाठो एउटा गधामाथि लदाएर ती कुराहरू आफ्नो छोरो दावीदसँग शाऊलकहाँ पठाइदिए।

[21] दावीद शाऊलकहाँ आए, र तिनको सेवामा नियुक्त भए। शाऊलले तिनलाई औधी प्रेम गर्थे; अनि दावीद तिनका हतियार बोक्नेहरूमध्ये एक जना भए।

[22] तब शाऊलले यिशैकहाँ समाचार पठाएर भने, “दावीदलाई मेरो सेवामा रहन दिनुहोस्; किनकि म तिनीसँग असाध्यै प्रसन्‍न छु।”

[23] जब-जब परमेश्‍वरबाटको हानिकारक आत्मा शाऊलमाथि आउँथ्यो, तब-तब दावीदले वीणा बजाउँथे। यसरी शाऊलले छुटकारा पाउँथे; र तिनले आराम महसुस गर्थे; अनि हानिकारक आत्माले तिनलाई छोड्दथ्यो।

1 शमूएल — Chapters