Skip to content
Opens in a new window
Listen to this chapter • 3:25

[1] तर दावीदले यस्तो विचार गरे, “कुनै न कुनै दिन म शाऊलको हातबाट नष्‍ट हुनेछु। मेरा निम्ति पलिश्तीहरूको देशमा उम्केर जानु नै बेश हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोज्न छोड्नेछन्, र म तिनको हातबाट उम्कनेछु।”

[2] यसकारण दावीद र तिनीसँग भएका छ सय मानिसहरू गात सहरको राजा माओकका छोरा आकीशकहाँ गए।

[3] दावीद र तिनका मानिसहरू आकीशसँग गातको सहरमा बसोबास गर्न थाले। प्रत्येक मानिससँग तिनीहरूका आफ्ना परिवार थिए। दावीदसँग तिनका दुईवटी पत्नीहरू थिए: यिजरेलकी अहीनोम र कर्मेलकी अबीगेल, जो नाबालकी विधवा पत्नी थिइन्।

[4] जब दावीद गातमा भागेर गएको कुरा शाऊललाई बताइयो, तब तिनले उनलाई खोज्न छोडिदिए।

[5] तब दावीदले आकीशलाई भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई कुनै नगरमा एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बसोबास गर्न सकूँ। तपाईंको सेवक तपाईंसँग राजकीय सहरमा किन बस्‍नू?”

[6] यसकारण त्यस दिन आकीशले तिनलाई सिक्लग दिए; अनि त्यस समयदेखि उसो त्यो ठाउँ यहूदाका राजाहरूको भयो।

[7] दावीद पलिश्तीहरूको प्रान्तमा एक वर्ष चार महिना बसे।

[8] त्यसपछि दावीद र तिनका मानिसहरू गए, र गेशूरी, गिज्री र अमालेकीहरूलाई लुटपाट गरे। (यी मानिसहरू प्राचीन समयदेखि नै शूर र इजिप्टसम्म फैलिएको भूमिमा बस्दै आएका थिए।)

[9] दावीदले जहाँ-जहाँ आक्रमण गरे, तिनले एउटै पनि पुरुष अथवा स्त्रीलाई जिउँदा छाडेनन्, तर भेडाहरू र गाईबस्तुहरू, गधाहरू, ऊँटहरू, र लुगाहरू लुटेर लगे। त्यसपछि तिनी आकीशकहाँ फर्किए।

[10] जब आकीशले तिनलाई सोध्थे, “तिमीले आज कतातिर लुटपाट गर्‍यौ?” तब दावीदले जवाफ दिन्थे, “यहूदाको दक्षिणी इलाकामा” अर्थात् “यरहमेलीको दक्षिणमा” अथवा “केनीहरूको दक्षिणी इलाकामा गएको थिएँ भनी भन्दथे।”

[11] तिनले गातमा ल्याउनलाई एउटै पनि पुरुष वा स्त्रीलाई जिउँदा छाडेनन्। किनकि तिनले, “तिनीहरूले हाम्रो बारेमा, ‘दावीदले हामीलाई यसो गर्‍यो’ भनेर सूचना देलान्” भन्‍ने सोच्थे। अनि तिनले पलिश्तीहरूका इलाकामा बसुन्जेल यस्तै गरिरहे।

[12] आकीशले दावीदमाथि भरोसा राखेर विचार गरे, “दावीद आफ्ना मानिस इस्राएलीहरूका निम्ति यति धेरै घृणित भएका छन्, अब तिनी जीवनभरिका लागि मेरा सेवक बन्‍नेछन्।”

1 शमूएल — Chapters