[1] शाऊलको मृत्युपछि अमालेकीहरूलाई जितेर दावीद फर्के, र तिनी सिक्लगमा दुई दिन बसे।
[2] तेस्रो दिन शाऊलको छाउनीबाट फाटेको लुगा लगाएको र टाउकोमा धुलो हालेको एक जना मानिस दावीदकहाँ आयो। जब त्यो दावीदकहाँ आयो, तब दावीदलाई सम्मान दिन भुइँमा घोप्टो परेर त्यसले दण्डवत् गर्यो।
[3] दावीदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलीहरूको छाउनीबाट उम्केर आएको हुँ।”
[4] दावीदले त्यसलाई फेरि सोधे, “त्यहाँ के भयो? मलाई भन्।” त्यसले भन्यो, “सेनाहरू लडाइँबाट भागे, र धेरै जना मारिए। अनि शाऊल र तिनका छोरा जोनाथन पनि मारिएका छन्।”
[5] तब तिनीकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई दावीदले भने, “शाऊल र तिनका छोरा जोनाथन मारिएका छन् भनी तैँले कसरी जान्दछस्?”
[6] त्यस जवान मानिसले भन्यो, “म संयोगवश गिल्बो डाँडामा पुगेको थिएँ। त्यहाँ शाऊल आफ्नो भालामाथि झुकेको मैले देखेँ। रथहरू र घोडसवारहरूले तिनलाई भेट्नै लागेका थिए।
[7] जब तिनले फर्केर हेरे, तब मलाई देखे, र मलाई बोलाए। मैले भनेँ, ‘हजुर, आज्ञा होस्, म केही गर्न सक्छु कि?’
[8] “तिनले मलाई सोधे, ‘तँ को होस्?’ “मैले भनेँ, ‘म एक अमालेकी हुँ।’
[9] “तब तिनले मलाई भने, ‘मेरो नजिक आइज, र मलाई मार्! म जीवितै छु, तर पनि मृत्युको मुखैमा पुगिसकेको छु।’
[10] “यसकारण म तिनको नजिकै गएर तिनलाई मारिदिएँ; किनकि तिनी भुइँमा लडेपछि बाँच्दैनन् भन्ने कुरा मलाई थाहा थियो। मैले तिनको शिरको मुकुट र तिनको पाखुरामा भएको बाला लिएँ, र ती मैले मेरा मालिककहाँ ल्याएको छु।”
[11] तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते।
[12] तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए।
[13] दावीदले आफूकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म परदेशीको छोरा, एक अमालेकी हुँ।”
[14] तब दावीदले त्यसलाई सोधे, “याहवेहका अभिषिक्त जनलाई मार्न हात उठाउँदा तँलाई डर लागेन?”
[15] तब दावीदले आफ्ना एक जना मानिसलाई बोलाएर भने, “जाऊ, गएर त्यसलाई मारिदेऊ!” यसकारण त्यस मानिसले त्यसलाई तरवारले हान्यो र मर्यो।
[16] किनकि दावीदले त्यसलाई भनेका थिए, “तेरो मृत्युको जिम्मेवार तँ आफैँ होस्, किनकि तैँले आफ्नै मुखले तेरो विरुद्धमा साक्षी दिइस् र तैँले भनिस्, ‘मैले याहवेहको अभिषिक्त जनलाई मारेँ।’ ”
[17] दावीदले शाऊल र तिनका छोरा जोनाथनका निम्ति यसरी विलाप गरे,
[18] अनि यहूदाका सबै मानिसहरूलाई यो विलापको गीत सिकाउने आदेश दिए (यो गीत याशारको पुस्तकमा लेखिएको छ):
[19] हे इस्राएल, तेरो महिमा, तेरो उच्च स्थानमा ढालिएको छ। कसरी वीरहरू ढलेका छन्!
[20] गातको सहरमा यो कुरा नभन्नू, न त अश्कलोनका गल्लीहरूमा घोषणा गर्नू, नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्, त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्।
[21] “हे गिल्बोका डाँडाहरू हो, तिमीहरूमाथि शीत नपरोस्, न त वृष्टि होस्, न त तिमीहरूका खेतमा अन्न दिने पानी परोस्; किनकि त्यहाँ वीर मानिसको ढाल अशुद्ध पारियो, शाऊलको ढाल—अब उसो तेल लगाइनेछैन।”
[22] मारिएकाहरूको रगतबाट, वीर मानिसको शरीरबाट, जोनाथनको धनु कहिल्यै फर्केर आएको थिएन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केर आएको थिएन।
[23] “शाऊल र जोनाथन तिनीहरू जीवित हुँदा प्यारा र मनोहर थिए; अनि तिनीहरूलाई मृत्युले पनि छुटाउन सकेन। तिनीहरू गरुडभन्दा फूर्तिला थिए, तिनीहरू सिंहहरूभन्दा पनि बलिया थिए।
[24] “हे इस्राएलका छोरीहरू हो, शाऊलका निम्ति रोओ, जसले तिमीहरूलाई रातो र मिहिन वस्त्र पहिर्याए, जसले तिमीहरूका वस्त्रहरूलाई सुनका गहनाले सिँगारिदिए।”
[25] वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्।
[26] मेरा भाइ, जोनाथन म तिम्रा निम्ति शोक गर्छु; तिमी मेरा निम्ति अति प्रिय थियौ। मप्रति तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरूको प्रेमभन्दा पनि अझ उत्तम थियो।
[27] “वीर मानिसहरू कसरी ढलेका छन्! लडाइँका हतियारहरू कसरी नष्ट भएका छन्!”