[1] जब शमूएल वृद्ध भए, तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे।
[2] तिनको जेठा छोराको नाम योएल र माहिलो छोराको नाम अबीयाह थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे।
[3] तर तिनका छोराहरू तिनको चालमा हिँडेनन्। तिनीहरू अनुचित तरिकाले पैसा कमाउनतिर लागे, र घूस लिएर न्यायलाई भ्रष्ट पार्न थाले।
[4] यसकारण इस्राएलका सारा प्रधानहरू एकसाथ भेला भए, र रामामा शमूएलकहाँ आए।
[5] तिनीहरूले तिनलाई भने, “तपाईं वृद्ध हुनुभएको छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। अब अरू राष्ट्रहरूजस्तै हामीलाई पनि न्याय गर्न एउटा राजा नियुक्त गरिदिनुहोस्।”
[6] तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे।
[7] अनि याहवेहले शमूएललाई भन्नुभयो, “ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।”
[8] मैले तिनीहरूलाई इजिप्टबाट ल्याएको दिनदेखि आजको दिनसम्म जसरी तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूका सेवा गरेका छन्, तँसँग पनि तिनीहरूले त्यस्तै गरिरहेका छन्।
[9] अब तिनीहरूको कुरा सुन्। तर तिनीहरूमाथि शासन गर्ने राजाको शासन कस्तो हुनेछ, सो तिनीहरूलाई गम्भीरतापूर्वक चेतावनी दिँदै बताइदे।
[10] यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए।
[11] तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजाले तिमीहरूसँग यसो गर्नेछन्: तिनले तिमीहरूका छोराहरूलाई लानेछन्। अनि तिनीहरूलाई आफ्ना रथहरू हाँक्ने काममा लगाउनेछन्; र घोडचढीहरू बनाउनेछन्। अनि तिनीहरूलाई तिनका रथहरूका अगि-अगि दगुर्न लगाउनेछन्।
[12] कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्।
[13] तिनले तिमीहरूका छोरीहरूलाई लगेर अत्तर बनाउने, भान्से र रोटी बनाउने काममा लगाउनेछन्।
[14] तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्।
[15] तिनले तिमीहरूका अन्न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्।
[16] तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्।
[17] तिनले तिमीहरूका बगालको दशांश लिनेछन्। तिमीहरू आफैँ पनि तिनका दास बन्नेछौ।
[18] जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
[19] तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, “जेसुकै होस्! हामी राजा चाहन्छौँ।
[20] तब हामी अरू राष्ट्रहरूजस्तै हुनेछौँ। अनि हामीलाई न्याय गर्न र युद्धमा लड्नका लागि हाम्रा अगि-अगि जानलाई राजा हुनेछन्।”
[21] जब शमूएलले ती मानिसहरूले भनेका सबै कुराहरू सुने, तब तिनले त्यस कुरालाई याहवेहको सामु दोहोर्याइदिए।
[22] याहवेहले जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुरा मान्, र तिनीहरूका निम्ति एउटा राजा नियुक्त गर्।” तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरू हरेक आ-आफ्ना घरमा फर्केर जाओ।”