Skip to content
Opens in a new window
Listen to this chapter • 2:57

[1] हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ

[2] ती प्रधान पूजाहारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।

[3] हरेक प्रधान पूजाहारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्‍त गरिएको हुन्छ, र यी प्रधान पूजाहारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो।

[4] यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पूजाहारी हुनुहुनेथिएन, किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पूजाहारीहरू छँदैछन्।

[5] तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्‍कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तिमीलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।”

[6] वास्तवमा येशूले पाउनुभएको सेवा पुरानो भन्दा उच्‍च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्‍च दर्जाको छ।

[7] किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन।

[8] तर प्रभुले मानिसहरूमा दोष भेटेर भन्‍नुभयो: “त्यो समय आउँदैछ, प्रभु भन्‍नुहुन्छ, जब म इस्राएलका र यहूदाका मानिसहरूसँग नयाँ करार बाँध्नेछु।

[9] यो त्यस करारजस्तो हुनेछैन, जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधें, जब मैले तिनीहरूलाई हात समातेर इजिप्टबाट डोर्‍याएर ल्याएको थिएँ; किनकि तिनीहरू मेरा करारप्रति विश्‍वासयोग्य भएनन्, अनि म तिनीहरूदेखि विमुख भएँ, प्रभु घोषणा गर्नुहुन्छ।

[10] त्यसपछि म इस्राएलको मानिसहरूसँग यो करार बाँध्नेछु, प्रभु घोषणा गर्नुहुन्छ। म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु र ती तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्।

[11] अनि कुनै मानिसले आफ्नो छिमेकीलाई अथवा कुनै मानिसले आफ्नो भाइलाई ‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्‍नेछन्।

[12] किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु, र तिनीहरूका पाप फेरि स्मरण गर्नेछैनँ।”

[13] यस करारलाई “नयाँ” भनीकन उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो, अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।

हिब्रूहरू — Chapters