Skip to content
Opens in a new window
Listen to this chapter • 3:12

[1] यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, हामीले प्रेरित अनि प्रधान पूजाहारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ।

[2] जसरी मोशा परमेश्‍वरको घरमा विश्‍वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्‍त गर्नुहुने परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनुहुन्थ्यो।

[3] घरको भन्दा घर बनाउनेको आदर बढी भएझैं, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ।

[4] किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्‍वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।

[5] अनि भविष्यमा परमेश्‍वरले के भन्‍नुहुनेछ भनेर साक्षी दिँदै “परमेश्‍वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैं विश्‍वासयोग्य थिए।”

[6] तर परमेश्‍वरको सम्पूर्ण परिवारमा ख्रीष्‍टचाहिँ पुत्रको रूपमा विश्‍वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्‍यौं भने हामी उहाँका परिवार हौं।

[7] यसकारण जसरी पवित्र आत्मा भन्‍नुहुन्छ: “आज तिमीहरूले उहाँको स्वर सुन्यौं भने,

[8] तिमीहरूले उजाडस्थानमा परीक्षाको समयमा, बागी भएझैं आफ्ना हृदयलाई कठोर नपार,

[9] जहाँ मैले चालीस वर्षसम्म के गरें, सो देखेर पनि। तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए,

[10] त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ, अनि मैले भनें, ‘तिनीहरूका हृदय सधैं बरालिन्छन्, अनि तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’

[11] यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरें, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ”

[12] यसकारण हे दाजुभाइ-दिदीबहिनीहरूहो, यसमा विचार गर कि, तिमीहरूसँग जीवित परमेश्‍वरदेखि टाढा रहने पापपूर्ण र अविश्‍वासी हृदय नहोस्।

[13] तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।

[14] हामीसँग भएको आत्मविश्‍वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्‍यौं भने, हामी ख्रीष्‍टका सहभागी भएका छौं।

[15] जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको स्वर सुन्यौं भने, तिमीहरू बागी हुँदा गरेझैं आफ्ना हृदयलाई कठोर नबनाओ।”

[16] सुनेर बागी हुने ती को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्‍याएर निकालेका थिए?

[17] अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्‍ट भए?

[18] अनि परमेश्‍वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने?

[19] यसरी हामी देख्दछौं कि, तिनीहरूका अविश्‍वासको कारणले तिनीहरू प्रवेश गर्न सकेनन्।

हिब्रूहरू — Chapters