[1] यसकारण हामीले जे सुनेका छौं, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्र ता हामी त्यसबाट तर्किजानेछौं।
[2] किनकि स्वर्गदूतहरूले बोलेको सन्देश पक्का थियो, र यसलाई उलङ्घन गर्ने र अनाज्ञाकारी रहने सबैले परमेश्वरबाट उचित दण्ड पाए भने,
[3] हामीले त झन् यति महान् मुक्तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला त? यो त्यही मुक्ति थियो, जसलाई पहिले प्रभुले घोषणा गर्नुभयो र उहाँलाई सुन्नेहरूले हाम्रा निम्ति यसको पुष्टि गरिदिए।
[4] परमेश्वरले पनि चिन्हहरू, अद्भुत कामहरू र अनेकौं आश्चर्यपूर्ण कामहरू अनि उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्का गर्नुभयो।
[5] हामीले जुन आउने संसारको विषयमा कुरा गर्दैछौं, त्यसलाई स्वर्गदूतहरूको अधीनतामा राखिएन।
[6] तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्ने साक्षी दिएका छन्: “मानवजाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? अथवा मानिसको पुत्र के हुन्, र तपाईं उहाँको फिक्री गर्नुहुन्छ?
[7] तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको बनाउनुभयो, तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनुभयो,
[8] सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।” मानिसको अधीनतामा सब थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनतामा भएको हामी देख्दैनौं।
[9] तर हामी येशूलाई देख्छौं, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, अब मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्।
[10] परमेश्वर, जसको निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउन उचित थियो।
[11] मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्न शर्माउनुभएन।
[12] उहाँ भन्नुहुन्छ; “मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाउँ घोषणा गर्नेछु; सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”
[13] अनि फेरि, “उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।” र उहाँ फेरि भन्नुहुन्छ, “हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोराछोरीहरू।”
[14] छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूका जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई जससँग मृत्युको अधिकार छ, नष्ट पार्न सक्नुभएको होस्,
[15] र जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्।
[16] किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ।
[17] यसैकारण उहाँलाई हर किसिमले आफ्ना भाइहरूझैं हुनुपर्ने थियो; ताकि उहाँ परमेश्वरको सेवामा दयालु अनि विश्वासयोग्य प्रधान पूजाहारी बनून्, यसरी येशू मानिसहरूका पाप क्षमाको बलिदान हुनुभएको होस्।
[18] किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।