Skip to content
Opens in a new window
Listen to this chapter • 3:30

[1] यसकारण त्यस विश्राममा प्रवेश गर्न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौं।

[2] किनकि तिनीहरूलाई झैं हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन, किनभने तिनीहरूले आज्ञा पालन गर्नेहरूको जस्तो विश्‍वास गरेनन्।

[3] तर अब हामी जतिले विश्‍वास गर्‍यौं, त्यस विश्राममा प्रवेश गरेका छौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरें, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्‍नेछैनन्। ’ ” जब कि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।

[4] किनकि धर्मशास्त्रमा उहाँले सातौं दिनको विषयमा यस्ता शब्दहरूमा भन्‍नुभएको छ: “अनि सातौं दिनमा परमेश्‍वरले आफ्ना सबै कामहरूबाट विश्राम लिनुभयो।”

[5] अनि फेरि यसै खण्डमा उहाँ भन्‍नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।”

[6] अझै पनि कतिलाई त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्, किनकि तिनीहरू अनाज्ञाकारी थिए।

[7] यसकारण फेरि परमेश्‍वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अघि भनेझैं दाविदद्वारा फेरि भन्‍नुभयो: “आज तिमीहरूले उहाँको स्वर सुन्यौं भने, आफ्ना हृदयलाई कठोर नबनाओ।”

[8] किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुने थिएन।

[9] यसकारण परमेश्‍वरका जनहरूको निम्ति विश्रामदिनको आराम बाँकी नै छ,

[10] किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्‍वरले आफ्ना कामबाट विश्राम गरेझैं तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्।

[11] यसकारण इस्राएलीहरूका अनाज्ञाकारीताको नमुना अपनाएर कोही पनि नष्‍ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्‍न गरौं।

[12] किनकि परमेश्‍वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।

[13] अनि सारा सृष्‍टिमा भएको कुनै पनि थोक परमेश्‍वरको सृष्‍टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।

[14] यसकारण स्वर्ग छिचोलेर जानुहुने परमेश्‍वरको पुत्र येशू, महान् प्रधान पूजाहारी, हामीसँग हुनुभएकोले, हामीले स्वीकार गरेको विश्‍वासलाई दृढतापूर्वक थामिराखौं।

[15] किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पूजाहारी होइन, तर हामीसँग त यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो हामीझैं हर प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।

[16] यसकारण हामी आत्मविश्‍वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔं, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्‍त होस्।

हिब्रूहरू — Chapters