[1] यसकारण ख्रीष्टसम्बन्धी सुरुका शिक्षाहरू त्यागेर परिपक्वतातर्फ बढौं। मृत्युतिर लैजाने कर्महरूबाट पश्चात्ताप, परमेश्वरमाथिको विश्वास, बप्तिस्माको विषयमा निर्देशन, हात राख्ने कामहरू, मरेकाहरूको पुनर्जीवन, र अनन्त न्यायका कुरा, यी सुरुका शिक्षाहरूको जग फेरि नबसालौं।
[3] परमेश्वरले अनुमति दिनुभयो भने हामी यसो गर्नेछौं।
[4] जसले एकपल्ट स्पष्टसँग सत्य जानेर स्वर्गीय वरदान चाखे, पवित्र आत्मामा सहभागी भए,
[5] अनि जसले परमेश्वरको वचनको भलाइ र आउँदो युगको शक्तिको स्वाद चाखे,
[6] र पनि तिनीहरू पतित भए भने तिनीहरूलाई पश्चात्तापमा फिर्ता ल्याउन असम्भव हुन्छ; तिनीहरूले आफ्ना कामहरूद्वारा परमेश्वरको पुत्रलाई पुनः क्रूसमा टाँगेर खुल्लमखुल्ला उहाँको अपमान गर्छन्।
[7] जुन जमिनले आफूमा बर्सिएको पानी सोसेर खनजोत गर्नेहरूका लागि उपयोगी अन्न उमार्छ, त्यसले परमेश्वरको आशिष पाउँछ।
[8] तर जुन जमिनले सिउँडी र काँडाहरू उमार्छ, त्यो विनाकामको भई श्राप पाउने जोखिममा रहन्छ, र अन्त्यमा त्यो जलाइन्छ।
[9] प्रिय मित्रहरू, हामीले यसरी बोले पनि हामी तिमीहरूको विषयमा चाहिँ असल कुराहरूबारे निश्चित छौं—ती कुराहरू जो मुक्तिसँग सम्बन्धित छन्।
[10] परमेश्वर अन्यायी हुनुहुन्न, तिमीहरूले परमेश्वरका जनहरूलाई सहायता गर्यौ र अझ गरिरहने भई उहाँप्रति तिमीहरूको प्रेम देखाएकाले परमेश्वरले तिमीहरूका काम बिर्सनुहुनेछैन।
[11] हामी चाहन्छौं कि, तिमीहरूको आशा पक्का गर्नको लागि तिमीहरू हरेकले अन्त्यसम्म त्यस्तै परिश्रम देखाइरहो।
[12] हामी तिमीहरू अल्छे भएका चाहँदैनौं, तर तिनीहरूका देखासिकी गर्ने होओ, जसले विश्वास र धीरजद्वारा प्रतिज्ञा गरिएका थोकहरूको अधिकार पाए।
[13] जब परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब शपथ खानलाई अरू कुनै ठूलो नाउँ नभएकोले उहाँले आफ्नै नाउँमा शपथ खाएर यसो भन्नुभयो,
[14] “म निश्चय तिमीलाई आशिष दिएर धेरै सन्तान दिनेछु।”
[15] अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्त गरे।
[16] मानिसहरूले आफूभन्दा ठूलाहरूको नाममा शपथ खान्छन्, अनि भनिएको कुरा पक्का हुन्छ र त्यहाँ कुनै तर्क गरिँदैन।
[17] किनकि परमेश्वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्ट गर्न चाहनुभएकोले, उहाँले यसलाई शपथद्वारा नै पक्का गर्नुभयो।
[18] परमेश्वरले दिनुभएका यी दुई कुरा उहाँको प्रतिज्ञा र शपथ जुन बदली हुन सक्दैन; किनकि परमेश्वरलाई झूट बोल्न असम्भव छ। परमेश्वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्।
[19] यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन पर्दा भित्रको पवित्रस्थानमा प्रवेश गर्दछ।
[20] जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ, किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदा-सर्वदाको लागि प्रधान पूजाहारी हुनुभएको छ।