Skip to content
Opens in a new window
Listen to this chapter • 2:30

[1] हरेक प्रधान पूजाहारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्‍त भएका हुन्छन्।

[2] तिनी आफै पनि दुर्बलताको अधीनमा भएको हुनाले, तिनले अन्जान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्।

[3] यसैकारण तिनले आफ्नै पापको लागि साथै मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ।

[4] अनि कसैले यो सम्मान आफै लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैं परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ।

[5] यसरी ख्रीष्‍टले पनि प्रधान पूजाहारी हुने महिमा आफैले लिनुभएन, तर परमेश्‍वरले ख्रीष्‍टलाई भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।”

[6] अनि अर्को ठाउँमा उहाँ भन्‍नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम, तिमी सदा-सर्वदाको लागि एक पूजाहारी हौ।”

[7] येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्विन्ती चढाउनुभयो, र उहाँको भक्‍तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो।

[8] उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारीता सिक्नुभयो।

[9] अनि एकपल्ट सिद्ध हुनुभएपछि, उहाँको आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्‍तिको स्रोत हुनुभयो,

[10] अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारी नियुक्‍त हुनुभयो।

[11] हामीलाई यस विषयमा भन्‍नु त धेरै नै छ, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ।

[12] वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्नेथियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ!

[13] दूध पिएर बाँच्ने जोसुकै पनि बालक भएको हुनाले, धार्मिकता विषयको शिक्षामा अनभिज्ञ हुन्छ।

[14] तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले ती निरन्तर प्रयोग गर्छन्, आफूलाई दुष्‍टताबाट असल चिन्‍ने कुरामा तालिम दिएका हुन्छन्।

हिब्रूहरू — Chapters