[1] बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग अलि-अलि गर्दै विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो,
[2] तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभयो, र जसद्वारा उहाँले समस्त विश्वलाई बनाउनुभयो।
[3] पुत्रचाहिँ परमेश्वरको महिमाको चमक अनि उहाँ परमेश्वर स्वयम्कै दुरुस्त प्रतिरूप हुनुहुन्छ, जसले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूको लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभएपछि उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
[4] यसकारण उहाँ स्वर्गदूतभन्दा उच्च हुनुभएकोले, उहाँले तिनीहरूभन्दा उच्च नाउँ उत्तराधिकारस्वरूप पाउनुभयो।
[5] स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कुनै समयमा यसो भन्नुभयो? “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु”? अथवा फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्”?
[6] परमेश्वरले आफ्ना प्रथम् जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा, उहाँ भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँको आराधना गरून्।”
[7] स्वर्गदूतहरूका विषयमा उहाँ भन्नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास, र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।”
[8] तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; र तपाईंको राज्यको राजदण्ड चाहिँ न्यायको राजदण्ड हुनेछ।
[9] तपाईंले धार्मिकतालाई प्रेम र दुष्टतालाई घृणा गर्नुभयो; यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई हर्षको तेलले अभिषेक गरेर तपाईंका साथीहरूभन्दा माथि राख्नुभएको छ।”
[10] उहाँ यसो पनि भन्नुहुन्छ, “हे प्रभु, आदिमा तपाईंले पृथ्वीका जगहरू बसाल्नुभयो, र आकाश तपाईंका हातका काम हुन्।
[11] तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू वस्त्रझैं पुराना भइजानेछन्।
[12] तपाईंले तिनीहरूलाई वस्त्रलाईझैं लपेट्नुहुनेछ, वस्त्रझैं ती बदली हुनेछन्। तर तपाईं एकैनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।”
[13] स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कुनै समयमा यसो भन्नुभयो, “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तिमी मेरो दाहिने हातपट्टि बस”?
[14] तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन्?