[1] व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन।
[2] यदि सक्ने भए, ती चढाइन रोकिने थिएनन् र? किनकि आराधना गर्नेहरू सधैंको निम्ति शुद्ध भइसक्नेथिए, र फेरि कहिल्यै तिनीहरूका पापहरूको लागि दोषी ठहरिने थिएनन्।
[3] तर ती बलिदानहरू त पापका वार्षिक सम्झना मात्र हुन्,
[4] किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ।
[5] यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर चढाउनको लागि तयार पारिदिनुभयो।
[6] होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा तपाईं प्रसन्न हुनुभएन।
[7] तब मैले भनें, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ। हे परमेश्वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ ”
[8] पहिला उहाँले भन्नुभयो, “बलिदान र भेटी, होमबलि अनि पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्न हुनुभयो”, यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ।
[9] तब उहाँले भन्नुभयो, “म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।” पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो।
[10] अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एकपल्टको बलिदानद्वारा हामी सधैंको लागि पापबाट पवित्र पारिएका छौं।
[11] पुरानो करारमा हरेक पूजाहारीले दिनहुँ उभिएर आफ्नो धार्मिक कर्तव्यहरू गर्छन्; घरी-घरी तिनले एकै किसिमका बलिदानहरू चढाउँछन्, जसले कहिल्यै पाप हटाउन सक्दैन।
[12] तर जब यी प्रधान पूजाहारीले सधैंको लागि अद्वितीय पाप क्षमाको लागि एउटै बलिदान चढाउनुभयो, तब उहाँ परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभयो;
[13] त्यस बेलादेखि नै आफ्ना शत्रुहरूलाई आफ्ना पाउदान बनिऊन् भनेर उहाँ पर्खनुहुन्छ;
[14] किनकि जो पवित्र तुल्याइँदैछन्, उहाँले तिनीहरूलाई एउटै बलिदानले सदाको निम्ति सिद्ध पार्नुभएको छ।
[15] यस विषयमा पवित्र आत्माले पनि साक्षी दिनुहुन्छ; उहाँ भन्नुहुन्छ:
[16] “त्यो समयपछि पछि म तिनीहरूसित जुन करार बाँध्नेछु, त्यो यही हो, प्रभु भन्नुहुन्छ, म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र म ती तिनीहरूका मनमा लेखिदिनेछु।”
[17] तब उहाँ फेरि भन्नुहुन्छ: “म तिनीहरूका पाप र कुकर्महरू कहिल्यै सम्झनेछैनँ।”
[18] अनि जब यी क्षमा हुन्छन्, पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन।
[19] यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, हामीलाई येशूको रगतद्वारा महा पवित्रस्थानभित्र पस्ने आत्मविश्वास प्राप्त भएको छ,
[20] येशूले हाम्रो निम्ति एउटा नयाँ र जीवन दिने मार्ग खोलिदिनुभएको छ, अर्थात् त्यस पर्दाद्वारा, जो उहाँको शरीर हो।
[21] परमेश्वरको परिवारमा हामीसँग एकजना प्रधान पूजाहारी हुनुभएकोले,
[22] हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔं। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।
[23] प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौं।
[24] अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौं।
[25] कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौं; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौं।
[26] यदि हामीले स्पष्टसँग सत्य बुझेर पनि जानाजानी पाप गरिरहन्छौं भने त पापहरूको लागि कुनै बलिदान बाँकी रहनेछैन,
[27] तर परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने आगो र डरलाग्दो न्यायको प्रतीक्षा मात्र रहनेछ।
[28] मोशाको व्यवस्था इन्कार गर्ने जोसुकै पनि दया नपाई दुई वा तीन साक्षीको गवाहीद्वारा मरे।
[29] त्यसो भए परमेश्वरको पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र वस्तु ठान्ने र अनुग्रहको आत्मालाई अपमानित गर्नेको सजाय झन् कति कठोर होला?
[30] तर यसो भन्नुहुने परमेश्वरलाई हामी चिन्छौं, “बदला लिने काम मेरो हो; म बदला लिनेछु,” अनि फेरि “प्रभुले आफ्ना जातिको न्याय गर्नुहुनेछ।”
[31] जिउँदो परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरो हो।
[32] पहिलेका ती दिनहरूलाई सम्झ, जब तिमीहरूले स्पष्टसँग सत्य बुझेपछि कसरी कष्टहरू बीचको संघर्षमा स्थिर रहेका थियौ।
[33] कुनै बेला तिमीहरूलाई खुल्लमखुल्ला अपमान गरिएको र सताइएको थियो भने, अरू बेलाचाहिँ तिमीहरू त्यस्ता व्यवहार गरिएकाहरूको साथमा काँधमा काँध मिलाएर उभिएका थियौ।
[34] तिमीहरूले कैदमा हुनेहरूसँग सहानुभूति देखाएका थियौ, अनि आफ्ना सम्पत्ति खुशीसाथ लुटिन दिएका थियौ; किनकि तिमीहरूसित अझ उत्तम र स्थायी सम्पत्ति छन् भनी तिमीहरूले जानेका थियौ।
[35] यसकारण आफ्नो आत्मविश्वास नत्याग, जसमा ठूलो इनामको प्रतिफल छ।
[36] तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ।
[37] किनकि धर्मशास्त्रमा लेखिएको छ, अब केही बेरमा “उहाँ, जो आउँदै हुनुहुन्छ, आउनुहुनेछ, विलम्ब गर्नुहुनेछैन।”
[38] अनि, “तर मेरो धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ। अनि जो पछि हट्छ, म ऊसित प्रसन्न हुनेछैनँ।”
[39] तर हामीचाहिँ पछि हट्ने र नष्ट हुनेमध्येका होइनौं, तर हामी विश्वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौं।