[1] यसकारण यतिका साक्षीका ठूला बादलले हामीलाई घेरिराखेका हुनाले, हामीलाई बाधा पुर्याउने टन्टाहरू, अनि सजिलैसित अलमल्याउने पापहरूजस्ता हरेक थोक त्यागेर, हाम्रो अघि राखिएको दौड धीरजसाथ दगुरौं।
[2] अनि हाम्रा विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हाम्रा आँखा केन्द्रित गरौं, जसले आफ्नो अघि राखिएको आनन्दको निम्ति लाजको उपेक्षा गर्दै क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुभयो।
[3] पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, यसरी तिमीहरू थाक्नेछैनौ र हरेस खानेछैनौ।
[4] तिमीहरूको पापको संघर्षको विरुद्धमा तिमीहरूले रगत बग्ने गरी त्यसको विरोध गरेका छैनौ।
[5] अनि पिताले आफ्नो पुत्रलाई भनेझैं तिमीहरूलाई भनिएका परमेश्वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ? “हे मेरा पुत्र, परमेश्वरको अनुशासनलाई हल्का नठान, अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ;
[6] किनकि परमेश्वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ, अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।”
[7] कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैं व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासन नगरेको कुनचाहिँ पुत्र होला र?
[8] अनि सबैजना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासन गरिएन भने ता, तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ।
[9] यसबाहेक हामीलाई अनुशासन गर्ने हाम्रा सांसारिक पिताहरू थिए, र हामीले तिनीहरूलाई आदर गर्यौं भने, झन् कति बढी हाम्रा आत्माहरूका पिताको अधीनतामा रहनुपर्छ र जिउनुपर्छ!
[10] उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासन गर्नुभयो, तर हामी परमेश्वरको पवित्रतामा सहभागी होऔं भनेर परमेश्वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासन गर्नुहुन्छ।
[11] कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्टदायक हुन्छ। त्यसो भए तापनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्न हुन्छ।
[12] यसकारण तिमीहरूका कमजोर हातहरू अनि दुर्बल घुँडाहरू बलियो बनाओ।
[13] “तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ” ताकि अशक्त अङ्ग नखुस्कोस्, तर निको होस्।
[14] हरेक मानिससित मिलापमा रहने, अनि पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन।
[15] ध्यान देओ कि, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्र ता तीतोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला।
[16] अनैतिक सम्बन्ध राख्ने कोही नहोस्, अथवा जेठो छोरो भएर पनि एक टुक्रा खानेकुराको लागि आफ्नो पैतृक अधिकार बेच्ने एसावजस्तै अधर्मी नहोस् भन्ने कुरामा ध्यान देओ।
[17] पछिबाट आफ्नो पैतृक अधिकार आशिष उपभोग गर्ने इच्छा गर्दा, तिनी तिरष्कृत भएका थिए भन्ने तिमीलाई थाहै छ। यद्यपि तिनले आँसुसहित त्यो आशिष प्राप्त गर्न खोजेका थिए; तर तिनले जे गरेका थिए, त्यसलाई सपार्ने मौका नै पाएनन्।
[18] तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो।
[19] तुरहीको चर्को स्वर अनि शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्न नपरोस् भनी विन्ती गरेका थिए,
[20] किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू” भन्ने आदेश तिनीहरूले सहन सकेनन्।
[21] त्यो दृश्य यति डरलाग्दो थियो कि, मोशाले पनि भने, “म डरले कामिरहेको छु।”
[22] तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ,
[23] अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्वरकहाँ, अनि सिद्ध तुल्याइएका धार्मिक मानिसहरूका आत्मामा,
[24] नयाँ करारका मध्यस्थ येशूकहाँ, अनि हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
[25] परमेश्वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन भन्ने कुरामा ध्यान देओ। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौं?
[26] त्यस बेला त उहाँको सोरले पृथ्वी हल्लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एकपल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्लाउनेछु।”
[27] त्यो “फेरि एकपल्ट” भन्ने शब्दहरूले यो देखाउँछ कि, हल्लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्।
[28] यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔं,
[29] किनकि हाम्रो “परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ।”