Skip to content
Opens in a new window
Listen to this chapter • 4:44

[1] यही नै मल्कीसेदेक, शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। तिनले राजाहरूलाई जितेर फर्किरहेका अब्राहामलाई भेटेर आशिष दिए,

[2] अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नाउँको अर्थ “धार्मिकताका राजा” अनि त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो।

[3] मातापिताविना, वंशावलीविना, जीवनको सुरु र अन्त्यविना नै तिनी परमेश्‍वरका पुत्रसमान सदाकाल पूजाहारी भइरहनेछन्।

[4] विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनीलाई युद्धमा जितेका मालबाट दशांश दिए!

[5] अब लेवी वंशबाट भएका पूजाहारीहरूले मात्र मानिसहरूबाट, तिनीहरूका सङ्गी इस्राएलीहरूबाट, दशांश उठाउन सक्छन् भनी व्यवस्थाले अनुमति दिन्छ। यद्यपि तिनीहरू पनि अब्राहामका सन्तानहरू हुन्;

[6] यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष दिए।

[7] अनि सानो व्यक्‍तिले ठूलो व्यक्‍तिबाट आशिष पाउँछन् भन्‍ने कुरामा कुनै शङ्का छैन।

[8] एकातिर दशांश ती लेवीहरूले लिन्छन्, जो मरेर जान्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जो सदा-सर्वदा जीवित घोषणा गरिनेछन्।

[9] अनि कसैले यसो पनि भन्‍न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए।

[10] किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए।

[11] परमेश्‍वरले इस्राएलीहरूलाई दिइएको व्यवस्थाको आधारमा यदि लेवीहरूको पूजाहारीपनद्वारा सिद्धता प्राप्‍त हुनसक्ने भए, किन हारूनको दर्जाबमोजिम नभई, तर मल्कीसेदेकको दर्जाबमोजिम पूजाहारी आउने आवश्यकता पर्‍यो?

[12] किनकि पूजाहारीपन बदली हुँदा व्यवस्था पनि बदली हुनुपर्छ।

[13] जसको लागि यी कुराहरू भनिए, उहाँ त बेग्लै कुलको हुनुहुन्थ्यो, र त्यस कुलबाट कसैले कहिल्यै पूजाहारी भएर वेदीको सेवा गरेन।

[14] किनकि यो स्पष्‍ट छ कि, हाम्रा प्रभु यहूदाको कुलबाट आउनुभयो, जुन कुलको विषयमा मोशाले पूजाहारी हुने कुरा गरेकै छैनन्।

[15] यदि मल्कीसेदेकझैं अर्को पूजाहारी देखा परे भने ता हामीले जे भन्यौं, त्यो अझ स्पष्‍ट हुन्छ,

[16] उहाँ जो पुर्ख्यौलीको नियमको आधारमा होइन, तर एउटा अविनाशी जीवनको शक्‍तिको आधारमा पूजाहारी हुनुभयो।

[17] किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदा-सर्वदाको लागि एक पूजाहारी हौ।”

[18] अघिल्‍लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो;

[19] जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्‍वरको नजिक जान्छौं, किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।

[20] अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पूजाहारी भए,

[21] तर उहाँ त शपथसहित पूजाहारी हुनुभयो, जब परमेश्‍वरले उहाँलाई भन्‍नुभयो: “परमप्रभुले शपथ खानुभएको छ अनि आफ्नो मन बदल्नुहुनेछैन: ‘तिमी सदा-सर्वदाको लागि पूजाहारी हौ।’ ”

[22] यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो।

[23] अब धेरै पूजाहारीहरू भएर आए, तर मृत्युले तिनीहरूलाई निरन्तर पूजाहारीको काम गरिरहन दिएन।

[24] तर येशूचाहिँ सधैं बाँचिरहनुहुने हुनाले उहाँको पूजाहारीपन अनन्तको लागि नै छ।

[25] यसकारण जतिजना उहाँद्वारा परमेश्‍वरमा आउँछन्, तिनीहरूलाई सदा-सर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूका मध्यस्थता गर्न उहाँ सधैं जिउनुहुन्छ।

[26] यस्ता प्रधान पूजाहारीले नै हाम्रा खाँचाहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्‍च पारिनुभएको छ।

[27] अरू प्रधान पूजाहारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, अनि मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकैपल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो।

[28] किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पूजाहारी नियुक्‍त गर्छ, तर व्यवस्थापछि आएको शपथले त परमेश्‍वरको पुत्रलाई नियुक्‍त गर्‍यो, जो सदा-सर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ।

हिब्रूहरू — Chapters