Skip to content
Opens in a new window
Listen to this chapter • 4:05

[1] पावल, परमेश्‍वरको इच्‍छा अनुसार येशू ख्रीष्‍टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्‍थमा भएका परमेश्‍वरको मण्डली र अखैया प्रान्‍तमा रहेका सम्पूर्ण विश्‍वासीहरूलाई ।

[2] हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्‍ति तिमीहरूमा रहेको होस् ।

[3] हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्‍त्वनाका परमेश्‍वर हुनुहुन्‍छ ।

[4] परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्‍त्वना दिनुहुन्‍छ । त्‍यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्‍त्वना दिन सक्छौँ । परमेश्‍वरले हामीलाई सान्‍त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्‍त्वनाद्वारा नै हामी अरूलाई सान्‍त्वना दिन्‍छौँ ।

[5] जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ, त्‍यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्‍त्वना प्रशस्त हुन्‍छ ।

[6] तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्‍त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्‍त्वना पायौँ भने यो तिमीहरूको सान्‍त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्‍त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्‍छ ।

[7] तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्‍त्वनामा पनि सहभागी हुन्‍छौ भन्‍ने हामीलाई थाहा छ ।

[8] भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्‍ने आशा नै मारेका थियौँ ।

[9] वास्तवमा, हामीमाथि मृत्‍युदण्ड थियो । तर त्‍यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो ।

[10] उहाँले हामीलाई त्‍यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्‍ने हामीले उहाँमा आशा राखेका छौँ ।

[11] उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ । त्‍यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्‍यवाद दिनेछन् ।

[12] हाम्रो अन्‍तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा ।

[13] हामी तिमीहरूले पढ्न र बुझ्‍न नसक्‍ने गरी केही पनि लेख्दैनौँ । म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्‍नेछौ ।

[14] जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ । येशू ख्रीष्‍टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्‍नेछौँ, जसरी तिमीहरू हाम्रा कारण बन्‍नेछौ ।

[15] यो कुरामा म निर्धक्‍क भएको कारण, तिमीहरूले दुई वटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्‍थेँ ।

[16] माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्‍थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्‍थेँ ।

[17] जब मैले यस तरिकाले सोच्दै थिएँ, तब के म हिच्किचाएँ र ? के मैले मानवीय मापनअनुसार योजनाहरू बनाएँ कि मैले एकै समयमा “हो” र “होइन” भनेँ र ?

[18] तर जसरी परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्‍छ, हामी एकैसाथ “हो” र “होइन” भन्‍दैनौँ ।

[19] किनकि परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्‍यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्‍न । बरु, उहाँ सदा “हो” हुनुहुन्‍छ ।

[20] किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्‍छन् । यसैले, उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई “आमेन” भनेका छौँ ।

[21] अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्‍छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।

[22] उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो ।

[23] बरु, मैले परमेश्‍वरलाई मेरो गवाहीको लागि पुकारेँ । त्‍यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्‍थमा आइनँ ।

[24] तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्‍त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन । बरु, हामी तिमीहरूको आनन्‍दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्‍वासमा अटल रहन्‍छौ ।

कोरिन्‍थीहरूलाई पावलको दोस्रो पत्र — Chapters