Skip to content
Opens in a new window
Listen to this chapter • 3:33

[1] भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्‍छौँ ।

[2] कष्‍टको भयङ्‌कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्‍ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।

[3] म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्‍ने भन्‍दा पनि बढ्ता र आफ्नो स्वेच्‍छाले दिए ।

[4] तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।

[5] यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्‍यसपछि परमेश्‍वरको इच्‍छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए ।

[6] त्‍यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्‍यौँ ।

[7] तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्‍यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।

[8] म यसलाई आज्ञाको रूपमा भन्‍दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्‍नको निम्ति म यो भन्‍छु ।

[9] किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक ।

[10] यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्‍छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्‍यो गर्ने चाहना पनि गर्‍यौ ।

[11] अब यसलाई पुरा गर । जसरी त्‍यस बेला तिमीहरूमा केही गर्ने इच्‍छा र चाहना थियो, तिमीहरूले त्‍यसलाई पुरा गर्न पनि जति सक्दो प्रयास गर ।

[12] किनकि यदि तिमीहरू यो काम गर्न इच्‍छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्‍यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।

[13] किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।

[14] तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।

[15] यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।”

[16] तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले तीतसको हृदयमा पनि मेरो जस्‍तै साँचो फिक्रीको मन हालिदिनुभयो ।

[17] किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर उनी यसप्रति धेरै उत्साहित पनि भए । तिनी आफ्नै स्वतन्‍त्र इच्‍छाले तिमीहरूकहाँ आए ।

[18] सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौँ ।

[19] त्‍यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्‍वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्‍छाको निम्ति हो ।

[20] हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्‍छाइरहेका छौँ ।

[21] हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।

[22] हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट जाँच गर्‍यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् ।

[23] तीतसको सन्‍दर्भमा भन्‍नुपर्दा, तिमीहरूको निम्ति तिनी मेरा साझेदार र सहकर्मी हुन् । भाइहरूचाहिँ मण्डलीहरूबाट पठाइएका हुन् । तिनीहरू ख्रीष्‍टका महिमा हुन् ।

[24] त्‍यसैले, तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ, र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ ।

कोरिन्‍थीहरूलाई पावलको दोस्रो पत्र — Chapters