Skip to content
Opens in a new window
Listen to this chapter • 2:30

[1] के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ ? केही मानिसहरूलाई जस्‍तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र ?

[2] तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् ।

[3] र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्‌गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।

[4] र यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो ।

[5] कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो ।

[6] परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्‍छ ।

[7] अब ढुङ्‌गामा कुँदिएको मृत्‍यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बीचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्‍द हुँदै थियो ।

[8] पवित्र आत्माको काम झन् कति धेरै महिमित होला ?

[9] यदि निन्‍दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्‍छ !

[10] किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्‍यो महिमित छैन ।

[11] यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ !

[12] हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।

[13] हराउँदै गरेको महिमाको अन्‍त्‍य इस्राएलीहरूले सिधै देख्‍न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ ।

[14] तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्‍यो घुम्टो रहिरहन्‍छ । त्‍यो खोलिएको छैन, किनकि ख्रीष्‍टमा मात्र यो खोलिन्‍छ ।

[15] तर आज पनि जब मोशाको बारेमा पढिन्‍छ, तिनीहरूको हृदयमा घुम्टो रहन्‍छ ।

[16] तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्‍छ, तब घुम्टो हटाइन्‍छ ।

[17] परमप्रभु आत्मा हुनुहुन्‍छ । जहाँ परमप्रभुको आत्मा छ, त्‍यहाँ स्वतन्‍त्रता हुन्‍छ ।

[18] अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्‍यही महिमामा बद्‌लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्‍छ ।

कोरिन्‍थीहरूलाई पावलको दोस्रो पत्र — Chapters