Skip to content
Opens in a new window
Listen to this chapter • 2:48

[1] प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ ।

[2] हाम्रा निम्ति ठाउँ बनाओ ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।

[3] मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्‍नको निम्ति ।

[4] तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्‍त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्‍दले भरिएको छु ।

[5] हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्‌घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ ।

[6] तर निरुत्साहितहरू लाई सान्‍त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनबाट हामीलाई सान्‍त्वना दिनुभयो ।

[7] तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्‍त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्‍त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्‍ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्‍दित भएँ ।

[8] मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ ।

[9] तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ ।

[10] किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्‍यु ल्याउँछ ।

[11] हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्‌कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्‌कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्‍याय भएको हेर्ने तिमीहरूको इच्‍छा कति ठुलो ! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।

[12] मैले तिमीहरूलाई लेखे तापनि त्‍यो खराबीग र्ने वा खराबी भोग्‍नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्‍वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ ।

[13] यही कारणले हामी उत्साहित हुन्‍छौँ । हाम्रा सान्‍त्वनासाथै हामी तीतसको आनन्‍दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ ।

[14] किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ । यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्‍यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्‍य ठहरियो ।

[15] तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्‍नेह अझ बढ्छ ।

[16] म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।

कोरिन्‍थीहरूलाई पावलको दोस्रो पत्र — Chapters