Skip to content
Opens in a new window
Listen to this chapter • 2:45

[1] र यसकारण, उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौँ कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ ।

[2] उहाँ यसरी भन्‍नुहुन्‍छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ, र मुक्‍तिको दिनमा मैले तिम्रो सहायता गरेँ ।” हेर, यो मुक्‍तिको दिन यो ।

[3] हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।

[4] बरु, हामी आफैँलाई परमेश्‍वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्‍टमा, विपत्तिमा, कठिनाइमा,

[5] पिटाइमा, कैदी अवस्थामा, हुलदङ्‌गामा, कडा परिश्रममा, अनिदा रातमा, भोकमा

[6] शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा उहाँका सेवकहरू हौँ ।

[7] हामीहरू परमेश्‍वरको शक्‍तिमा, वचनको सत्‍यतामा सेवकहरू हौँ । हामीसँग हाम्रो दायाँ र बायाँ हातमा धार्मिकताको हतियार छन् ।

[8] हामी मान र अपमान, निन्‍दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्‍छ, तथापि हामी साँचा छौँ ।

[9] हामी नचिनिएका व्यक्‍तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्‍तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्‍तै गरी काम गर्छौं, तर मृत्‍युदण्ड पाए जस्‍तै गरी होइन ।

[10] हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्‍दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्‍तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ ।

[11] हे कोरिन्‍थका विश्‍वासीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौँ र हाम्रा हृदयहरू खुला छन् ।

[12] तिमीहरूका हृदय हामीबाट नियन्‍त्रित छैनन्, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्‍त्रित छन् ।

[13] अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख ।

[14] अविश्‍वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता ? अनि ज्‍योतिको अन्धकारसित के सङ्‌गति ?

[15] ख्रीष्‍टको झुटा बोल्नेहरूसित के सम्झौता ? अर्थात्, विश्‍वासीहरूको अविश्‍वासीहरूसँग के सहभागिता ?

[16] र परमेश्‍वरको मन्‍दिर र मूर्तिहरूबिच के सम्झौता ? त्‍यसकारण, हामीहरू जीवित परमेश्‍वरका मन्‍दिर हौँ, जसरी उहाँले भन्‍नुभएको छः “म तिनीहरूका बीचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”

[17] त्‍यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्‍नुहुन्‍छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु ।

[18] म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्‍तिमान् परमेश्‍वर भन्‍नुहुन्‍छ ।

कोरिन्‍थीहरूलाई पावलको दोस्रो पत्र — Chapters