Skip to content
Opens in a new window
Listen to this chapter • 2:43

[1] त्‍यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।

[2] बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्‍यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्‍यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्‍येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।

[3] यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्‍यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ ।

[4] तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्‍छ ।

[5] किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्‍छ ।

[6] किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्‍योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्‍योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।

[7] यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।

[8] हामी सबैतिरबाट कष्‍टित भएका छौँ, तर निराश भएका छैनौँ ।

[9] हामी सताइएका छौँ, तर त्‍यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ ।

[10] येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्‍युलाई बोकिहिँड्छौँ ।

[11] हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्‍युमा सुम्पिइँदै छौँ ।

[12] यही कारणले, हामीमा मृत्‍युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।

[13] “मैले विश्‍वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिए जस्‍तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ ।

[14] हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ ।

[15] हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्‍यसरी नै परमेश्‍वरको महिमाको लागि धन्‍यवाद दिने काम पनि वृद्धि होस् ।

[16] त्‍यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ ।

[17] किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्‍त महिमाको लागि तयार पारिरहेको छ ।

[18] किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्‍छन् र नदेखिने कुराहरू अनन्‍तसम्म रहन्‍छन् ।

कोरिन्‍थीहरूलाई पावलको दोस्रो पत्र — Chapters