Skip to content
Opens in a new window
Listen to this chapter • 4:46

[1] मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्‍थ्यो भन्‍ने मेरो इच्‍छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ !

[2] किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्‍याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।

[3] तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्‍तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्‍छ कि भनेर मलाई डर लागेको छ ।

[4] किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशू भन्‍दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्मा भन्‍दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचार भन्‍दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ !

[5] किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरू भन्‍दा म कुनै पनि हिसाबले कम छैनँ ।

[6] तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ ।

[7] के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।

[8] तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ ।

[9] तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्‍तरता दिनेछु ।

[10] ख्रीष्‍टको सत्‍यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन ।

[11] किन ? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र ? परमेश्‍वर जान्‍नुहुन्‍छ ।

[12] तर म जे गरिरहेको छु, त्‍यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्‍यो मौकालाई म बन्‍द गर्न चाहन्‍छु ।

[13] किनकि त्‍यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् ।

[14] र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्‍योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ ।

[15] यदि त्‍यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्‍त्‍य तिनीहरूको कामअनुसार नै हुनेछ ।

[16] म फेरि भन्‍दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्‍छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।

[17] मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।

[18] धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु ।

[19] किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ !

[20] किनकि तिमीहरू त्‍यसलाई सहन्‍छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरू भन्‍दा असल ठान्‍छ र तिमीहरूलाई थप्‍पड पनि लाउँछ ।

[21] म हाम्रै शर्ममा यो भन्‍दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्ख जस्‍तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।

[22] के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएली हुन् ? म पनि इस्राएली हुँ । के तिनीहरू अब्राहामका सन्‍तान हुन् ? म पनि हुँ ।

[23] के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? (म पागल भएको जस्‍तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्‍युका धेरै खतराहरूको सामना गरेको छु ।

[24] यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालीस कोर्रा खाएको छु ।”

[25] मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्‌गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु ।

[26] नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्‍यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु ।

[27] धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्‌गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु ।

[28] यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ ।

[29] को कमजोर छ, र म कमजोर छैनँ ? कसले ठक्‍कर खाएको छ र मचाहिँ थकित हुन्‍नँ ?

[30] यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।

[31] प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्‍वरलाई थाहा छ कि मैले ढाँटेको छैन !

[32] दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए ।

[33] तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्केँ ।

कोरिन्‍थीहरूलाई पावलको दोस्रो पत्र — Chapters