Skip to content
Opens in a new window
Listen to this chapter • 3:16

[1] हामी जान्‍दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्‍तसम्म रहने घर हो ।

[2] किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं ।

[3] हामी यसको इच्‍छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्‌गा हुनेछैनौँ ।

[4] किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ , त्‍यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्‍छौँ ।

[5] हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ ।

[6] त्‍यसैले, सधैँ विश्‍वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्‍छौँ, हामी परमेश्‍वरबाट टाढा रहन्‍छौँ ।

[7] हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन ।

[8] त्‍यसैले, हामी विश्‍वस्‍त छौँ । हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ ।

[9] त्‍यसैले, घरमा वा त्‍यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो ।

[10] किनकि हामी सबै ख्रीष्‍टको न्‍याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् ।

[11] त्‍यसकारण, परमेश्‍वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ । हामी को हौँ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ । म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्‍ट छ ।

[12] हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्‍दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।

[13] किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्‍यो परमेश्‍वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्‍यो तिमीहरूको खातिर हो ।

[14] किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् ।

[15] अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्‍नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।

[16] त्‍यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्‍यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्‌कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्‍यसरी हेर्दैनौँ ।

[17] किनभने कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् ।

[18] यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।

[19] अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्‍छ । उहाँले मिलापको सन्‍देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ ।

[20] त्‍यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ !” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं ।

[21] उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।

कोरिन्‍थीहरूलाई पावलको दोस्रो पत्र — Chapters