[1] जब राजा आफ्नो महलमा बस्न थाले, र याहवेहले तिनलाई आफ्ना चारैतिरका तिनका सबै शत्रुहरूबाट विश्राम दिनुभयो;
[2] तब तिनले अगमवक्ता नातानलाई भने, “म यहाँ देवदारुको महलमा बस्दैछु, तर परमेश्वरको सन्दुकचाहिँ एउटा पालभित्र छ।”
[3] नातानले राजालाई जवाफ दिए, “तपाईंको मनमा जे राम्रो लाग्छ, त्यो गर्न अगि बढ्नुहोस्; किनकि याहवेह तपाईंसँग हुनुहुन्छ।”
[4] तर त्यस रात याहवेहको वचन नातानकहाँ यसो भनेर आयो:
[5] “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, के तैँले नै मेरा निम्ति घर बनाउनेछस् र?
[6] मैले इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याएको दिनदेखि आजको दिनसम्म म कुनै घरमा बसेको छैनँ। म एक ठाउँदेखि अर्को ठाउँ जाँदा पालकै घरमा बस्दैआएको छु।
[7] म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरो प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका शासकहरूलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’
[8] “यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।
[9] तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ महान् बनाउनेछु।
[10] अनि म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्; जसरी विगतमा तिनीहरूले गरेका थिए।
[11] मैले मेरा प्रजा इस्राएलमाथि शासकहरू नियुक्त गरेदेखि नै यसो गर्दैआएको थिएँ। म तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट पनि विश्राम दिनेछु। “ ‘याहवेहले तँलाई यो घोषणा गर्नुहुन्छ, याहवेह आफैँले तेरा निम्ति राजघराना स्थापित गर्नुहुनेछ:
[12] जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित विश्राम गर्नेछस्, तब म तँपछि तेरो वंशलाई खडा गर्नेछु, जो तेरो आफ्नै मासु र रगतबाट हुनेछ। म त्यसको राज्य स्थापित गर्नेछु।
[13] त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
[14] म त्यसको पिता हुनेछु, र त्योचाहिँ मेरो छोरा हुनेछ। यदि त्यसले भूल गर्यो भने म त्यसलाई मानिसहरूको लट्ठीले सजाय दिनेछु। अनि मानिसहरूद्वारा त्यसलाई कोर्राले ताडना दिनेछु।
[15] तर मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ, जसरी शाऊलबाट आफ्नो प्रेम हटाएको थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ।
[16] तेरो वंश र तेरो राज्य मेरो सामु सदाका लागि रहिरहनेछ; तेरो सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”
[17] नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।
[18] त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे; र तिनले भने: “हे सर्वशक्तिमान् याहवेह, म को हुँ, र मेरो परिवार के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
[19] अनि यो पनि तपाईंको दृष्टिमा कम भएझैँ, हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकको परिवारको भविष्यको बारेमा पनि बताइदिनुभयो—हे सर्वशक्तिमान् याहवेह, के तपाईं साधारण मानिससित सधैँ यस्तो व्यवहार गर्नुहुन्छ र?
[20] “दावीदले तपाईंलाई अरू बढी के भन्न सक्छ र? किनकि हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकलाई चिन्नुहुन्छ।
[21] तपाईंको वचनको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि आफ्नो सेवकलाई यस बारेमा जान्न दिनुभएको छ।
[22] “हे सर्वशक्तिमान् याहवेह, तपाईं कति महान् हुनुहुन्छ! तपाईंजस्तो अरू कोही छैन। हामीले आफ्नै कानले सधैँ सुनेझैँ तपाईंबाहेक अरू परमेश्वर छैन।
[23] तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरू र तिनीहरूका देवी-देवताहरूलाई धपाएर तपाईंले महान् र अद्भुत कार्यहरू गर्नुभयो।
[24] तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नो निजी प्रजाको रूपमा स्थापित गर्नुभएको छ। हे याहवेह, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ।
[25] “यसकारण अब हे याहवेह परमेश्वर, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदैव कायम राख्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएझैँ गर्नुहोस्!
[26] ताकि तपाईंको नाम सदा महान् होस्। तब मानिसहरूले भन्नेछन्, ‘सेनाहरूका याहवेह नै इस्राएलमाथि परमेश्वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।”
[27] हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवकलाई यो प्रकट गर्नुभएको छ, “म तेरा निम्ति एउटा घराना निर्माण गर्नेछु।” यसैकारण तपाईंको सेवकले यो प्रार्थना चढाउने साहस पाएको छ।
[28] हे सर्वशक्तिमान् याहवेह, तपाईं परमेश्वर हुनुहुन्छ! तपाईंका वचनहरू भरोसायोग्य छन्। तपाईंले आफ्नो सेवकको निम्ति यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ।
[29] “अब आफ्नो सेवकको घरानालाई आशिष् दिनुहोस्, र यो कुरा तपाईंको दृष्टिमा सदाका निम्ति कायम रहोस्। किनकि तपाईं सर्वशक्तिमान् याहवेह, बोल्नुभएको छ। तपाईंको आशिष्ले तपाईंको सेवकको घर सदा आशिषित रहनेछ!”