Skip to content
Opens in a new window
Listen to this chapter • 3:44

[1] दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?”

[2] शाऊलको घरानाका एक जना सीबा नामको नोकर थियो। तिनीहरूले त्यसलाई दावीदको सामु देखा पर्न बोलाए, तब राजाले त्यसलाई भने, “के तँ सीबा होस्?” त्यसले जवाफ दियो, “हजुर, तपाईंको सेवक, म उही हुँ।”

[3] राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्‍वरको दया देखाउन सकूँ?” सीबाले राजालाई जवाफ दियो, “जोनाथनका एक जना छोरा अझै जीवितै छन्; जसका दुवै खुट्टा लङ्गडा छन्।”

[4] राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।”

[5] यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए।

[6] जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे। दावीदले भने, “मपीबोशेत!” तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।”

[7] दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्‍चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।”

[8] मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?”

[9] तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु।

[10] तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्‍नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।)

[11] तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए।

[12] मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए।

[13] मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे।

2 शमूएल — Chapters