[1] जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो।
[2] तिनले भने: याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारकर्ता हुनुहुन्छ;
[3] मेरा परमेश्वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। मेरो ढाल र मेरो उद्धारको सिङ हुनुहुन्छ। उहाँ मेरो गढ, मेरो शरणस्थान र मेरो उद्धारकर्ता हुनुहुन्छ। तपाईंले मलाई हिँस्रक मानिसहरूबाट बचाउनुहुन्छ।
[4] म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ; र म मेरा शत्रुहरूबाट बचाइन्छु।
[5] मृत्युका छालहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत पारे।
[6] चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्यो।
[7] मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ; मैले मेरा परमेश्वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो; मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो।
[8] पृथ्वी काम्यो, र हल्लियो; आकाशका जगहरू हल्लिए; तिनीहरू कामे किनकि परमेश्वर रिसाउनुभएको थियो।
[9] उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के।
[10] उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो।
[11] करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।
[12] उहाँले अन्धकारलाई आफ्नो ओढ्ने मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने मण्डप तुल्याउनुभयो।
[13] उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो, अनि चट्याङबाट आगोका झिल्काहरू निस्के।
[14] याहवेह स्वर्गबाट गर्जनुभयो; सर्वोच्चको सोर गुञ्जायमान भयो।
[15] उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो।
[16] हे याहवेह, तपाईंको हप्काइमा र तपाईंका नाकका प्वालबाट निस्केका सासले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए।
[17] उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो।
[18] उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए।
[19] मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो।
[20] उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो।
[21] याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।
[22] किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ।
[23] उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ।
[24] म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु।
[25] याहवेहले मेरो धार्मिकताअनुसार र उहाँको दृष्टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
[26] विश्वासयोग्यसँग तपाईं आफूलाई विश्वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;
[27] शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ; तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ।
[28] तपाईं नम्रहरूलाई बचाउनुहुन्छ; तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ।
[29] हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
[30] तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु।
[31] परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।
[32] किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र? हाम्रा परमेश्वरबाहेक अर्को चट्टान को छ र?
[33] उनै परमेश्वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ; र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ।
[34] उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ।
[35] उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्।
[36] तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, तपाईंको सहायताले मलाई महान् बनाएको छ।
[37] तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ; ताकि मेरा गोडा नचिप्लून्।
[38] मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ।
[39] मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे।
[40] तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ।
[41] तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ।
[42] तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन। तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन।
[43] मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ; अनि मैले तिनीहरूलाई सडकको हिलोझैँ कुल्चिदिएँ, र किचीमिची पारिदिएँ।
[44] तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्।
[45] विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्।
[46] तिनीहरूको सारा साहस हराउँछन्; र तिनीहरूका किल्लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।
[47] याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्वर, मेरा चट्टान, मेरा मुक्तिदाता उच्च होऊन्!
[48] उहाँ मेरो परमेश्वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ,
[49] जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ।
[50] यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु।
[51] “उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम, दावीद र तिनका वंशहरूलाई सदासर्वदा देखाउनुहुन्छ।”