Skip to content
Opens in a new window
Listen to this chapter • 10:31

[1] शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्‍यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।

[2] हेब्रोनमा जन्मिएका दावीदका छोराहरू: तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए;

[3] माहिलो किलाब, कर्मेलको नाबालकी विधवा अबीगेलका छोरा थिए; साहिँलो गेशूरका राजा तल्मै अब्शालोमकी छोरी माकाको छोरा थिए;

[4] काहिँलो अदोनियाह हग्गीतका छोरा थिए; ठाहिँलो शपत्याह अबीतलका छोरा थिए;

[5] अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए। दावीदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए।

[6] शाऊलका घराना र दावीदका घरानाको बीचमा युद्ध भइरहेको बेला अबनेरले शाऊलको घरानामा आफ्नो स्थान बलियो पार्दैगए।

[7] शाऊलकी एउटी रिश्पा नामकी उपपत्नी थिइन्, जो अय्याकी छोरी थिइन्। ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?”

[8] ईश्बोशेतले भनेको कुराले अबनेर अति रिसाए। तिनले जवाफ दिए, “के म यहूदाको पक्षमा बस्‍ने कुकुर हुँ र? आजको यस दिनसम्म म तपाईंको पिता शाऊलप्रति अनि उहाँको परिवार र मित्रहरूप्रति इमानदार छु। मैले तपाईंलाई दावीदको हातमा सुम्पेको छैनँ। यद्यपि अहिले तपाईं एउटा स्त्रीको विषयमा मलाई दोष लगाउनुहुन्छ!

[9] यदि मैले दावीदसँग परमेश्‍वरले उहाँलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएजस्तै शाऊलको घरानाबाट राज्य सारेर दानदेखि बेर्शेबासम्म इस्राएल र यहूदामाथि दावीदको सिंहासन स्थापित गरिन भने,

[10] याहवेहले अबनेरसित कठोर व्यवहार गरून्।”

[11] ईश्बोशेतले अबनेरलाई अर्को शब्द भन्‍ने साहस नै गरेनन्; किनकि तिनी अबनेरसँग डराए।

[12] त्यसपछि अबनेरले आफ्नो पक्षबाट दावीदसित यसरी भन्‍नू भनेर दूतहरू पठाए, “यो देश कसको हो? मसित सन्धि गर्नुहोस्, र म सारा इस्राएललाई तपाईंकहाँ ल्याउनलाई सहायता गर्नेछु।”

[13] दावीदले भने, “ठिक छ, म तिमीसँग सन्धि गर्नेछु। तर म तिमीबाट एउटा कुरा माग गर्छु। तिमीले मलाई भेट्न आउँदा शाऊलकी छोरी मीकललाई नलिई आउन पाउनेछैनौ।”

[14] तब दावीदले शाऊलका छोरा ईश्बोशेतकहाँ यो मागसहित दूतहरू पठाए, “मैले एक सय पलिश्तीहरूका खलडीहरूको दाम चुकाएर मगनी गरेको मेरी पत्नी मीकल मलाई सुम्पिदेऊ।”

[15] यसकारण ईश्बोशेतले हुकुम दिए, र मीकललाई तिनको पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए।

[16] तरै पनि तिनका पति तिनको पछि-पछि रुँदै तिनीसित बहूरीमसम्मै गए। तब अबनेरले पल्तिएललाई भने, “फर्केर घर जाओ!” यसकारण तिनी फर्केर गए।

[17] अबनेरले इस्राएलका प्रधानहरूलाई भने, “केही समयदेखि तपाईंहरूले दावीदलाई राजा बनाउन चाहनुभएको थियो।

[18] अब त्यसै गर्नुहोस्! किनकि याहवेहले दावीदसँग यसरी प्रतिज्ञा गर्नुभएको छ, ‘म आफ्नो सेवक दावीदद्वारा मेरा प्रजा इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट र तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनेछु।’ ”

[19] अबनेरले बेन्यामीनीहरूसँग पनि व्यक्तिगत रूपमा बातचित गरे। त्यसपछि तिनी इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले के गर्न चाहन्छन्, ती सम्पूर्ण कुराहरू बताउनलाई हेब्रोनमा दावीदकहाँ गए।

[20] जब अबनेर आफूसँग भएका बीस जना मानिसहरू लिएर हेब्रोनमा दावीदकहाँ गए, तब दावीदले तिनी र तिनका मानिसहरूका निम्ति एउटा भोज तयार गरे।

[21] अनि अबनेरले दावीदलाई भने, “मलाई जान दिनुहोस्, र गएर मेरा मालिक राजाको निम्ति सारा इस्राएललाई भेला गर्न सकूँ, ताकि तिनीहरूले हजुरसँग करार बाँधून्। अनि तपाईंले आफूले इच्छा गर्नुभएझैँ सबैमाथि शासन गर्न सक्नुहुनेछ।” यसकारण दावीदले अबनेरलाई पठाइदिए; अनि तिनी शान्तिसँग गए।

[22] त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए।

[23] जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्‍ने कुरा सुनाइयो।

[24] यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्!

[25] तपाईंले नेरका छोरा अबनेरलाई जान्‍नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।”

[26] तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन।

[27] जब अबनेर हेब्रोनमा फर्के, तब योआबले तिनलाई गुप्‍तमा कुरा गर्ने निहुँ गरेर मूलढोकाको एकातिर लगे। त्यहाँ आफ्नो भाइ असाहेलको रगतको बदला लिन तिनको पेटमा धारिलो हतियार रोपिदिए, र तिनी मरे।

[28] पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ।

[29] योआबको दोष तिनकै र तिनका पिताका सम्पूर्ण घरानाको शिरमा परोस्! योआबको घरानामा घाउखटिरा हुने वा कुष्‍ठरोगले कहिल्यै नछोडोस्, अथवा लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्!”

[30] (योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।)

[31] तब दावीदले योआब र तिनीसित भएका सबै मानिसहरूलाई भने, “तिमीहरूका लुगाहरू च्यातेर भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीरको अगि-अगि शोक गर्दै हिँड।” राजा दावीद आफू पनि मृत शरीरको पछि-पछि हिँडे।

[32] तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए।

[33] राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र?

[34] तिम्रा हातहरू बाँधिएका थिएनन्, न त तिम्रा पाउहरूमा साङ्ला थिए, तिमी दुष्‍ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए।

[35] तब ती सबै मानिसहरू आए। अनि दिन छँदै दावीदलाई केही खान आग्रह गरे; तर दावीदले शपथ खाएर यसो भने, “यदि मैले घाम अस्ताउन अगि रोटी अथवा केही चाखेँ भने परमेश्‍वरले मप्रति कठोर व्यवहार गरून्!”

[36] सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो।

[37] यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे।

[38] तब राजाले आफ्ना मानिसहरूलाई भने, “आजको दिन इस्राएलमा एक राजकुमार र एक जना महान् पुरुष मरेका छन् भनी के तिमीहरू जान्दैनौ?

[39] आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्‍ट काम गर्नेलाई त्यसको दुष्‍ट कामअनुसार नै प्रतिफल देऊन्!”

2 शमूएल — Chapters