[1] तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंको आफ्नै रगत र मासु हौँ।
[2] विगतमा शाऊल हामीमाथि राजा हुँदा इस्राएललाई सैनिक लडाइँमा डोर्याउने तपाईं नै हुनुहुन्थ्यो। अनि याहवेहले तपाईंलाई भन्नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ”
[3] जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब राजाले तिनीहरूसित याहवेहको करार बाँधे। अनि तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
[4] दावीद राजा हुँदा तीस वर्षका थिए। तिनले चालीस वर्ष राज्य गरे।
[5] तिनले हेब्रोनमा यहूदामाथि साँढे सात वर्षसम्म राज्य गरे, अनि यरूशलेममा सारा इस्राएल र यहूदामाथि तेत्तीस वर्ष राज्य गरे।
[6] राजा दावीद र तिनका मानिसहरू यरूशलेममा बस्ने यबूसीहरूलाई आक्रमण गर्न यरूशलेमतिर लागे। यबूसीहरूले दावीदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्न। अन्धा र लङ्गडाहरूले नै तपाईंहरूलाई धपाउन सक्नेछन्।” तिनीहरूले सोचेका थिए, “दावीद यहाँ पस्न सक्नेछैनन्।”
[7] तर पनि दावीदले सियोनको किल्ला, अर्थात् दावीदको सहर कब्जा गरे।
[8] त्यस दिन दावीदले भने, “यबूसीहरूलाई जित्न चाहने जोसुकै पनि पानीको नाला भएर दावीदका शत्रुहरू ‘लङ्गडा र अन्धाहरूकहाँ’ पुग्नुपर्नेछ। त्यसैकारण तिनीहरू भन्दछन्, ‘अन्धा र लङ्गडा’ महलमा पस्न पाउनेछैनन्।”
[9] त्यसपछि दावीदले त्यस गढीलाई आफ्नो बासस्थान बनाए। अनि त्यस सहरलाई दावीदको सहर नाम दिए। तिनले सहरको भित्री भागका कौशीका चारैतिरका इलाकालाई बनाए।
[10] दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह परमेश्वर तिनीसँग हुनुहुन्थ्यो।
[11] त्यसपछि टायरका राजा हीरामले देवदारुका काठहरूसँग सिकर्मी र डकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए। तिनीहरूले दावीदका निम्ति एउटा महल बनाए।
[12] तब याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो।
[13] दावीदले हेब्रोन छोडेपछि यरूशलेममा अरू पत्नीहरू र उपपत्नीहरू ल्याए। तिनका अरू छोराछोरी जन्मिए।
[14] यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
[15] यिभार, एलीशूअ, नेपेग, याफिया,
[16] एलीशामा, एल्यादा र एलीपेलेत।
[17] जब दावीद इस्राएलमाथि राजा अभिषिक्त भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर दावीदले यो कुरा सुनेर तल गढीमा शरण लिन गए।
[18] तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीमा फैलिएर बसे।
[19] यसकारण दावीदले याहवेहसँग यसो भन्दै सल्लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले जवाफ दिनुभयो, “जा, किनकि म पलिश्तीहरूलाई निश्चय नै तेरो हातमा सुम्पिदिनेछु।”
[20] यसकारण दावीद बाल-पराजीममा गए, अनि त्यहाँ तिनीहरूलाई परास्त गरे। दावीदले भने, “पानी फुटेर निस्केझैँ याहवेह मेरा शत्रुहरूको विरुद्धमा मेरो सामु बेगसित निस्कनुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो।
[21] पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडे। अनि दावीद र तिनका मानिसहरूले ती लगे।
[22] पलिश्तीहरू फेरि उक्लेर आए। अनि रपाईमको बेँसीमा फैलिएर बसे।
[23] यसकारण दावीदले याहवेहसँग सल्लाह लिए। अनि उहाँले भन्नुभयो, “यस पटक सीधै आक्रमण नगर्; तर लहरे पीपलका रूखहरूका सामु पछिल्तिरबाट तिनीहरूलाई आक्रमण गर्।
[24] तैँले लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू; किनकि त्यस बेला याहवेह पलिश्ती सेनाहरूलाई प्रहार गर्न तेरो अगि-अगि जानुहुनेछ।”
[25] यसकारण याहवेहले भन्नुभएझैँ दावीदले गरे। तिनले पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।