Skip to content
Opens in a new window
Listen to this chapter • 4:33

[1] समय बित्दै गएपछि दावीदले पलिश्तीहरूलाई जिते, र तिनीहरूलाई अधीनमा लिए। अनि तिनले मेथेग-आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए।

[2] दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे।

[3] यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए।

[4] दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।

[5] जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।

[6] तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो।

[7] दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।

[8] हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए।

[9] जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,

[10] तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए।

[11] राजा दावीदले ती सामानहरू याहवेहकहाँ अर्पण गरे, जसरी तिनले अरू देशहरूबाट कब्जा गरेर ल्याएका चाँदी र सुनलाई अर्पण गर्ने गर्दथे।

[12] ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे।

[13] नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए।

[14] तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।

[15] दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।

[16] सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।

[17] अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; सरायाहचाहिँ सचिव थिए।

[18] बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए। दावीदका छोराहरू राजकीय सल्‍लाहकार थिए।

2 शमूएल — Chapters