Skip to content
Opens in a new window
Listen to this chapter • 5:56

[1] केही समयपछि दावीदले इस्राएलका सबै सक्षम जवान मानिसहरूलाई एकसाथ भेला गराए, जसको संख्या तीस हजार थियो।

[2] तिनी र तिनीसँग भएका सबै मानिसहरू सन्दुकमा भएका करूबहरूको बीच सिंहासनमा विराजमान हुनुहुने सेनाहरूका याहवेहको नामद्वारा चिनिएको परमेश्‍वरको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाका लागि निस्के।

[3] तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एउटा नयाँ गाडामा सजाएर त्यसलाई डाँडामा भएको अबीनादाबको घरबाट ल्याए। अबीनादाबका छोराहरू उज्जाह र अहियोले नयाँ गाडा डोर्‍याए।

[4] तिनीहरूले परमेश्‍वरको सन्दुक भएको नयाँ गाडालाई डोर्‍याइरहेका थिए, र अहियोचाहिँ त्यसको अगिल्तिर हिँडिरहेका थिए।

[5] दावीद र इस्राएलका सारा मानिसहरू गीत, वीणा, सारङ्गी, खैँजडी, मृदङ्ग र झ्यालीको साथमा याहवेहको सामु आफ्ना पूरा जोशले उत्सव मनाउँदै हिँडिरहेका थिए।

[6] जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नलडोस् भनेर उज्जाहले लम्केर परमेश्‍वरको सन्दुकलाई समाते।

[7] उज्जाहको लापर्बाही कामको कारण याहवेहको क्रोध तिनीमाथि दन्क्यो। यसकारण परमेश्‍वरले तिनलाई प्रहार गर्नुभयो। तिनी त्यहीँ परमेश्‍वरको सन्दुकको छेउमा मरे।

[8] यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।

[9] त्यस दिन दावीद याहवेहसँग डराएर भने, “याहवेहको सन्दुक कसरी मकहाँ आउला?”

[10] याहवेहको सन्दुकलाई दावीदको सहरमा आफूसँग लैजान चाहेनन्। यसको सट्टा तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे।

[11] याहवेहको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्‍यो। याहवेहले ओबेद-एदोम र तिनका सम्पूर्ण परिवारलाई आशिष् दिनुभयो।

[12] अब राजा दावीदलाई यसो भनियो, “याहवेहले ओबेद-एदोमको परिवारमा र तिनीसँग भएका हरेक कुरामा परमेश्‍वरको सन्दुकको कारण आशिष् दिनुभएको छ।” यसकारण दावीदले परमेश्‍वरको सन्दुकलाई ओबेद-एदोमको घरबाट आनन्दसाथ दावीदको सहरमा ल्याए।

[13] जब याहवेहको सन्दुक बोक्नेहरू छ कदम अगि बढे, तब तिनले एउटा साँढे र एउटा मोटो बाछा बलि चढाए।

[14] दावीदचाहिँ मलमलको एपोद लगाएर आफ्नो पूरा जोशको साथ याहवेहको सामु नाचे।

[15] यसरी तिनी र सारा इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै याहवेहको सन्दुक लिएर आएका थिए।

[16] जब याहवेहको सन्दुक दावीदको सहरमा प्रवेश भइरहेको थियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्। अनि जब तिनले दावीदलाई याहवेहको सामु उफ्रँदै र नाच्दै गरेको देखिन्, तब तिनले आफ्नो हृदयमा उनलाई घृणा गरिन्।

[17] तिनीहरूले याहवेहको सन्दुकलाई ल्याए; र दावीदले सन्दुकको निम्ति तयार पारेको पालभित्र त्यसको ठाउँमा राखे। तब दावीदले याहवेहको सामु होमबलि र मेलबलि चढाए।

[18] तिनले होमबलि र मेलबलि चढाइसकेपछि मानिसहरूलाई सेनाहरूका याहवेहको नाममा आशिष् दिए।

[19] तब तिनले भेला भएका इस्राएलीहरूको सारा भीडको हरेक व्यक्ति, स्त्री र पुरुष दुवैलाई एउटा रोटी, एउटा खजूरको डल्‍ला र किसमिसको एक-एक झुप्पो दिए। त्यसपछि सबै मानिसहरू आ-आफ्ना घर गए।

[20] जब दावीद आफ्ना परिवारलाई आशिष् दिन घर फर्के, तब शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, “इस्राएलका राजाले नीच मानिसले गरेझैँ आफ्ना नोकरहरूका दासीहरूले देख्ने गरी आज कसरी आफूलाई नाङ्गो तुल्याएका छन्!”

[21] दावीदले मीकललाई भने, “याहवेह, जसले तिम्रा पिता तथा उहाँका परिवारका सट्टामा मलाई चुन्‍नुभयो, र याहवेहका मानिस इस्राएलीहरूमाथि शासक नियुक्त गर्नुभयो, उही याहवेहको सामु म हर्ष-उल्‍लास मनाउनेछु।

[22] म योभन्दा पनि अझ अपमानित हुनेछु। म आफ्नै दृष्‍टिमा अपमानित हुनेछु। तर तिमीले भनेका यी दासीहरूद्वारा म सम्मानित हुनेछु।”

[23] यसैकारण शाऊलकी छोरी मीकलको आफू मर्ने बेलासम्म छोराछोरी हुन सकेन।

2 शमूएल — Chapters