[1] जब राजा सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके, तब तिनले इच्छा गरेका सबै कुराहरू हासिल गरे।
[2] अनि याहवेह तिनीकहाँ गिबोनमा देखापर्नुभएझैँ दोस्रोपल्ट तिनीकहाँ देखा पर्नुभयो।
[3] याहवेहले तिनलाई भन्नुभयो: “तैँले मेरो सामु चढाएको प्रार्थना र अर्जबिन्ती मैले सुनेको छु। तैँले बनाएको यस मन्दिरलाई मैले त्यहाँ सदाका निम्ति आफ्नो नाम राखेर पवित्र गरेको छु। मेरो नजर र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।
[4] “तेरो विषयमा चाहिँ, तँ तेरा पिता दावीदझैँ, हृदयको इमानदारी र सोझोपनमा विश्वासयोग्य भएर मेरो सामु हिँडिस्। अनि मैले आज्ञा गरेका सबै आदेश र व्यवस्थाहरू पालन गरिस् भने,
[5] ‘इस्राएलको सिंहासनमाथि बस्नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले तेरा पिता दावीदलाई प्रतिज्ञा गरेझैँ, म इस्राएलमाथि तेरो सिंहासन सदाका लागि स्थापित गर्नेछु।
[6] “तर तँ अथवा तेरा छोराहरू मदेखि तर्केर गए, र मैले तँलाई दिएका आज्ञाहरू र आदेशहरू मानेनन् भने, र अन्य देवी-देवताहरूको सेवा गर्दै तिनीहरूलाई पूजा गरे भने,
[7] मैले इस्राएललाई दिएको यस देशबाट म तिनीहरूलाई हटाउनेछु। अनि मैले आफ्नो नामको निम्ति पवित्र गरेको यस मन्दिरलाई म इन्कार गर्नेछु। तब इस्राएल सबै जातिहरूका बीचमा एउटा निन्दा र हाँसोको पात्र बन्नेछ।
[8] अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट जाने सबैले चकित हुँदै खिसी गरेर यसो भन्नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यसो गर्नुभएको होला?’
[9] तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना परमेश्वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ”
[10] याहवेहको मन्दिर र राजमहल, यी दुई वटा भवनहरू बनाउन सोलोमनलाई बीस वर्ष लाग्यो। त्यो समयको अन्त्यमा,
[11] राजा सोलोमनले टायरका राजा हीरामलाई गालीलका बीस वटा नगरहरू दिए। किनकि हीरामले तिनलाई चाहिए जति देवदारु, सल्लाका काठ र सुन दिएका थिए।
[12] तर जब सोलोमनले हीरामलाई दिएका नगरहरू हेर्नलाई तिनी टायरबाट त्यहाँ गए, तिनले ती सहरहरू मन पराएनन्।
[13] अनि तिनले सोधे, “मेरा भाइ, तपाईंले मलाई यी कस्ता किसिमका नगरहरू दिनुभयो?” अनि तिनले तिनीहरूलाई काबूल देश भन्ने नाम दिए; जुन नाम आजको दिनसम्मै छँदैछ।
[14] हीरामले सोलोमनलाई 120 टालेन्ट सुन पठाएका थिए।
[15] राजा सोलोमनले याहवेहको मन्दिर, उनको राजमहल, कौसीहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउँदा ज्यालाविना खटाएका मानिसहरूको विवरण यस्तो छ।
[16] (इजिप्टका राजा फारोले गेजेरलाई आक्रमण गरेर जितेका थिए। अनि त्यसलाई आगो लगाइदिएका थिए। तिनले त्यस सहरमा बस्ने कनानीहरूलाई मारेर त्यो आफ्नी छोरी, अर्थात् सोलोमनकी पत्नीलाई उपहारस्वरूप दिए।
[17] अनि सोलोमनले गेजेरलाई पुनर्निर्माण गरे।) तिनले यी कुराहरू बनाए: तल्लो बेथ-होरोन,
[18] तिनको देशभित्र मरुभूमिमा भएको बालात र तादमोर,
[19] यसको साथमा आफ्ना रथहरू र घोडाहरू राख्न तिनले भण्डार सहरहरू र नगरहरू बनाए। अनि यरूशलेममा, लेबनानमा र तिनले शासन गरेका सबै प्रान्तहरूमा तिनले जे जति बनाउने इच्छा गरेका थिए, ती सबै पूरा गरे।
[20] बाँकी रहेका एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू, यबूसीहरू (यी मानिसहरू इस्राएली थिएनन्),
[21] अर्थात् तिनीहरूका देशमा बाँकी रहेका सन्तानहरू, जसलाई इस्राएलीहरूले नष्ट पार्न सकेका थिएनन्। सोलोमनले तिनीहरूलाई दासको रूपमा काम गर्न बाध्य बनाएका थिए, जुन आजको दिनससम्मै कायम छँदैछ।
[22] तर सोलोमनले इस्राएलीहरूबाट कसैलाई पनि दास बनाएनन्। तिनीहरू तिनका लडाकु मानिसहरू, सरकारी अधिकारीहरू, तिनका अधिकृतहरू र तिनका रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।
[23] सोलोमनले आफ्ना परियोजनाहरूमा काम गर्ने मानिसहरूमाथि रेखदेख गर्न 550 जना अधिकारीहरूलाई नियुक्त गरे।
[24] दावीदको सहरबाट फारोकी छोरी सोलोमनले तिनका निम्ति बनाएको राजमहलमा आएपछि तिनले कौसीहरू बनाए।
[25] सोलोमनले वर्षमा तीनपल्ट याहवेहका निम्ति आफूले बनाएको वेदीमा होमबलि र मेलबलि चढाउँथे। अनि यसका साथसाथै याहवेहको सामु धूप बाल्थे। यसरी तिनले मन्दिरमा गर्नुपर्ने कर्तव्यहरू पूरा गरे।
[26] राजा सोलोमनले लाल समुद्रको किनारमा, एदोमको एलोतको छेउमा भएको एस्योन-गेबेरमा जहाजहरू पनि बनाए।
[27] अनि हीरामले आफ्ना मानिसहरू, अर्थात् समुद्रका अनुभवी नाविकहरूलाई सोलोमनका मानिसहरूसित जहाजको बेडामा सेवा गर्न पठाए।
[28] तिनीहरू समुद्री यात्रा गरेर ओपीरमा गए। अनि चार सय बीस टालेन्ट सुन ल्याए, र ती सुन राजा सोलोमनलाई सुम्पिदिए।