Skip to content
Opens in a new window
Listen to this chapter • 6:02

[1] गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, “मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्‍वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।”

[2] तब याहवेहको वचन एलियाकहाँ आयो:

[3] “यो ठाउँ छोडेर पूर्वपट्टि लाग्, र यर्दनको पूर्वपट्टि भएको करीतको खोल्सामा गएर लुकेर बस्।

[4] तैँले खोलाको पानी पिउनेछस्; र तँलाई खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”

[5] यसकारण याहवेहले भन्‍नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वपट्टिको करीतको खोल्सामा गएर बसे।

[6] कागहरूले तिनलाई बिहान रोटी र मासु ल्याइदिन्थे; अनि साँझमा पनि रोटी र मासु ल्याइदिन्थे; र तिनले त्यस खोलाको पानी पिउँथे।

[7] केही समयपछि देशमा पानी नपरेको कारणले त्यो खोला सुक्यो।

[8] तब याहवेहको वचन तिनीकहाँ आयो:

[9] “झट्टै सीदोनको सारपतमा जा र त्यहाँ बस्। तँलाई भोजन दिनू भनेर मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।”

[10] यसकारण तिनी सारपतमा गए। तिनी त्यस सहरको मूलढोकामा आइपुग्दा त्यहाँ एउटी विधवा दाउरा बटुल्दै थिइन्। तिनले उनलाई बोलाएर सोधे, “कृपया तिमीले मलाई एउटा लोहोटामा अलिकति पानी ल्याइदिन्छौ कि ताकि म पिउन पाऊँ?”

[11] ती विधवा पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “अनि दया गरी मलाई एक टुक्रा रोटी पनि ल्याइदेऊ।”

[12] तिनले जवाफ दिइन्, “जीवित याहवेह तपाईंका परमेश्‍वरलाई साक्षी राखेर भन्दछु, मसित एउटै रोटी पनि छैन। एउटा भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलिकति तेलबाहेक केही छैन। म आफैँ र मेरा छोराका निम्ति खानेकुरा बनाएर खाई मरौँला भनी घरमा लैजान केही दाउरा बटुल्दैछु।”

[13] एलियाले उनलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर तिमीसित जे छ, पहिले त्यसबाट मेरा निम्ति एउटा रोटी पकाएर मकहाँ ल्याऊ; अनि त्यसपछि तिमी र तिम्रो छोराका निम्ति केही बनाऊ!

[14] किनकि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘याहवेहले यस देशमा वर्षा नपठाउनुभएसम्म भाँडाको पिठो र ढुङ्ग्रोको तेल रित्तिनेछैन।’ ”

[15] अनि तिनी गइन्, र एलियाले तिनलाई भनेझैँ गरिन्। यसरी एलिया र ती स्त्रीका परिवारको निम्ति धेरै दिनका निम्ति भोजन भइरह्‍यो।

[16] किनकि एलियाद्वारा याहवेहले भन्‍नुभएझैँ भाँडोको पिठो रित्तिएन; न त ढुङ्ग्रोको तेल नै सकियो।

[17] केही समयपछि त्यस घरकी मालिक्नीको छोरा बिरामी भयो; अनि त्यो यति साह्रो हुँदैगयो, कि आखिरमा त्यसले सास फेर्नै छोड्यो।

[18] तिनले एलियालाई भनिन्, “हे परमेश्‍वरका जन, तपाईंले मेरो विरुद्धमा किन यस्तो गर्नुभयो? के तपाईं मेरो पाप सम्झना गराउन र मेरो छोरालाई मार्न भनी मकहाँ आउनुभएको हो?”

[19] एलियाले जवाफ दिए, “तिम्रो छोरा मलाई देऊ।” तिनले त्यस केटोलाई उनका हातबाट लिए, र आफू बस्‍ने माथिल्‍लो कोठामा लगेर त्यसलाई आफ्नो ओछ्यानमा सुताए।

[20] तब तिनले याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्‍वर, म जुन विधवासित बस्दैछु, तिनको छोरालाई मारेर किन उनीमाथि पनि यो विपत्ति ल्याउनुभएको हो?”

[21] तब तिनी तीनपल्ट त्यस केटोमाथि लमतन्‍न भई पस्रे; र याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्‍वर, यस बालकको प्राण ऊसभित्र फेरि फर्केर आओस्!”

[22] याहवेहले एलियाको पुकार सुन्‍नुभयो; अनि त्यस बालकको प्राण त्यसकहाँ फर्केर आयो, र त्यो जिउँदो भयो।

[23] अनि एलियाले त्यस बालकलाई उठाएर कोठाबाट बोकेर तल ल्याए; अनि त्यसकी आमालाई दिएर भने, “हेर, तिम्रो छोरा जीवितै छ!”

[24] तब ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो कि तपाईं परमेश्‍वरका जन हुनुहुन्छ; अनि तपाईंको मुखबाट निस्केको याहवेहको वचन सत्य रहेछ।”

1राजाहरू — Chapters