[1] यसरी सोलोमन राजाले इस्राएलभरि शासन गरे।
[2] तिनका प्रमुख अधिकारीहरू यिनै थिए: सादोकका छोरा अजर्याह, जो पुजारी थिए;
[3] शीशाका छोराहरू एलीहोरेफ र अहीयाह, जो सचिवहरू थिए; अहीलूदका छोरा यहोशापात, जो लेखापाल थिए।
[4] यहोयादाका छोरा बनायाह, जो मुख्य सेनापति थिए; सादोक र अबीयाथार, जो पुजारी थिए।
[5] नातानका छोरा अजर्याह, जो राज्यपालहरूका अधिकारी थिए; नातानका छोरा याबूद, जो पुजारी र राजाका निजी सल्लाहकार थिए।
[6] अहीशार, जो दरबारका प्रशासक थिए; अब्दाका छोरा अदोनीराम, जो ज्यालाविना काम गर्नेहरूलाई खटाउनेका प्रमुख थिए।
[7] इस्राएलभरि सोलोमनका बाह्र जना जिल्ला राज्यपालहरू थिए, जसले राजा र राजकीय घरानाका निम्ति सामान जुटाउँथे। प्रत्येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्यो।
[8] तिनीहरूका नाम यिनै हुन्: एफ्राइमको पहाडी मुलुकमा बेन-हूर,
[9] माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा, बेन-देकेर।
[10] अरूब्बोतमा, बन-हेसेद (तिनको जिम्मामा सोकोह र हेपेरका सबै ठाउँ पर्दथे);
[11] नापोत-डोरमा, बेन-अबीनादाब (तिनको विवाह सोलोमनकी छोरी तापतसित भएको थियो);
[12] तानाक, मगिद्दो र यिजरेलको मन्दिरको सार्तानको छेउमा भएको बेथ-शान, अर्थात् बेथ-शानदेखि अबेल-महोला र योक्मामसम्म सम्पूर्ण इलाकाको निम्ति अहीलूदका छोरा बाना;
[13] रामोत-गिलादमा, बेन-गेबेर (गिलादमा मनश्शेको छोरा याईरका सबै इलाका साथसाथै बाशानको अर्गोब जिल्ला र त्यसका पर्खाल भएका अनि काँसोका मूलढोका भएका साठी वटा सहरहरू तिनको अधीनमा थिए);
[14] महनाइममा इद्दोका छोरा अहीनादाब;
[15] नप्तालीमा, अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए);
[16] आशेर र बालोतमा, हूशैका छोरा बाना;
[17] इस्साखारमा, परूवाका छोरा यहोशापात;
[18] बेन्यामीनमा, एलाका छोरा शिमी;
[19] गिलादमा, ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोनको देश अनि बाशानका राजा ओगको देश)। जिल्लामा तिनी एउटै मात्र राज्यपाल थिए।
[20] यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवासरह असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र तिनीहरू खुशी थिए।
[21] सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशका साथसाथै इजिप्टको सिमानासम्म सबै राज्यमा शासन गर्थे। यी देशहरूले राजकर ल्याउँथे। तिनीहरू सोलोमनको जीवनकालभरि तिनका अधीनमा रहे।
[22] सोलोमनका दैनिक चाहिने सामान तीस कोर्स मसिनो पिठो र साठी कोर्स अन्न,
[23] दश वटा पालेका गोरुहरू, बीस वटा चरनमा पालिएका गोरुहरू, र एक सय वटा भेडाबाख्राका साथमा मृग, चित्तल, जरायो र पालेका पक्षीहरू थिए।
[24] किनकि तिनले नदीको पश्चिमपट्टिका सबै राज्यहरू, अर्थात् तिप्सादेखि गाजासम्म राज्य गर्थे। तिनको चारैतिर शान्ति थियो।
[25] सोलोमनको जीवनकालभरि दानदेखि बेर्शेबासम्म यहूदा र इस्राएलमा प्रत्येक मानिस आफ्नै दाख र नेभाराको रूखमुनि सुरक्षित थिए।
[26] सोलोमनका रथ घोडाहरू र तिनका बाह्र हजार घोडाहरूका निम्ति चार हजार तबेलाहरू थिए।
[27] प्रत्येक महिना जिल्ला राज्यपालहरूले आफ्नो पालोमा सोलोमन राजा र तिनका मेचमा खानेहरूका निम्ति आवश्यक सामान जुटाउँथे। तिनीहरूले कुनै कुराको अभाव हुन दिँदैन थिए।
[28] तिनीहरूले रथका घोडाहरू र अरू घोडाहरूका निम्ति आवश्यकता अनुसारको जौ र पराल ल्याउँथे।
[29] परमेश्वरले सोलोमनलाई बुद्धि र अति महान् अन्तर्दृष्टि अनि समुद्रको किनारमा भएको बालुवासरह नाप्न नसकिने समझशक्ति दिनुभयो।
[30] सोलोमनको बुद्धि पूर्वका सारा मानिसहरू र इजिप्टका सम्पूर्ण जनहरूको बुद्धिभन्दा महान् थियो।
[31] तिनी एज्री एतान र माहोलका छोराहरू हेमान, कलकोल, दर्दा र सबै मानिसहरूभन्दा बढी बुद्धिमान् थिए। तिनको ख्याति चारैतिरका राष्ट्रहरूमा फिँजियो।
[32] तिनले तीन हजार हितोपदेशहरू बोले, र तिनले एक हजार पाँच वटा गीतहरू लेखे।
[33] तिनले लेबनानका देवदारुदेखि लिएर पर्खालबाहिर उम्रने हिसपसम्मका सबै वृक्षहरूको बारेमा वर्णन गरे। तिनले पशुहरू, चराहरू, घस्रने जन्तु र माछाहरूको विषयमा पनि बताए।
[34] सोलोमनको बुद्धिका कुरा सुन्न भनेर हरेक देशका राजाहरूले आफ्ना राजदूतहरूलाई पठाउँथे।