Skip to content
Opens in a new window
Listen to this chapter • 9:10

[1] त्यस बेला यारोबामको छोरा अबीयाह बिरामी भयो।

[2] यारोबामले आफ्नी पत्नीलाई भने, “जाऊ, आफ्नो भेष बदल, ताकि तिमी यारोबामकी पत्नी हौ भनी मानिसहरूले नचिनून्। त्यसपछि शीलोमा जाऊ, जहाँ मलाई ‘तिमी यी मानिसहरूमाथि राजा हुनेछौ’ भन्‍ने अगमवक्ता अहीयाह छन्।

[3] तिम्रो साथमा दश वटा रोटी, केही फुरौलाहरू र एक भाँडो मह लिएर तिनीकहाँ जाऊ। अनि हाम्रो छोरालाई के हुनेछ, सो तिनले बताइदिनेछन्।”

[4] यसकारण यारोबामकी पत्नीले तिनले भनेझैँ गरिन्, र शीलोमा अहीयाहको घरमा गइन्। त्यस बेला अहीयाहले देख्न सक्दैनथिए; किनकि वृद्धावस्थाले गर्दा तिनका आँखा धमिलिएका थिए।

[5] तर याहवेहले अहीयाहलाई भन्‍नुभएको थियो, “यारोबामकी पत्नी आफ्नो बिरामी छोराको विषयमा तँलाई सोध्न आउँदैछे। तैँले त्यसलाई यस्तो जवाफ दिनू। त्यो आउँदा आफूलाई अरू कोही हुँ भनी भान पार्नेछे।”

[6] यसकारण तिनको खुट्टाको आवाज सुनेर अहीयाहले भने, “हे यारोबामकी पत्नी, भित्र आऊ। यस्तो बहाना किन गर्दैछ्यौ? म तिमीलाई एउटा खराब खबर दिन पठाइएको छु।

[7] जाऊ, गएर यारोबामलाई भन, कि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तँलाई मानिसहरूबाट मैले खडा गरेँ, र तँलाई मेरा जाति इस्राएलमाथि अगुवा बनाएँ।

[8] मैले दावीदको घरानाबाट राज्य खोसेँ, र त्यो तँलाई दिएँ। तर तँ मेरा सेवक दावीदजस्तो भइनस्, जसले मेरा आज्ञाहरू पालन गर्‍यो, र मेरो दृष्‍टिमा जे ठिक थियो, त्यही मात्र गर्नलाई आफ्नो सम्पूर्ण हृदयले मलाई पछ्यायो।

[9] तर तँभन्दा अगिका सबैभन्दा बढी दुष्‍टता तैँले गरिस्। तैँले आफ्ना निम्ति अरू देवताहरू र ढालेर बनाइएका धातुका मूर्तिहरू बनाइस्। तैँले मलाई रिस उठाएको छस्, र मलाई आफ्नो पिठिउँ फर्काएको छस्।

[10] “ ‘त्यसैले म यारोबामको घरानामा विपत्ति ल्याउँदैछु। म यारोबामबाट कमारा होस् वा फुक्‍का होस्; इस्राएलका प्रत्येक पुरुषलाई नाश गर्नेछु। म यारोबामको घरलाई कसैले गोबर जलाएझैँ ती सबै भस्म नभएसम्म जलाइदिनेछु।

[11] यारोबामका जोसुकै होस्, ती सबै सहरमा मर्नेछन्। तिनीहरूलाई कुकुरहरूले खानेछन्। सहरदेखि बाहिर मर्नेहरू सबैलाई आकाशका पक्षीहरूले खानेछन्। याहवेहले भन्‍नुभएको छ!’

[12] “तिमीचाहिँ घर फर्केर जाऊ। जब तिमीले आफ्नो सहरमा पाइला टेक्नेछौ, तब त्यो बालक मर्नेछ।

[13] सारा इस्राएलले त्यसका निम्ति बिलौना गर्नेछ र त्यसलाई गाड्नेछ। यारोबामको सन्तानमा त्यो एक जना मात्र गाडिनेछ; किनकि यारोबामको घरानाबाट त्यसमा मात्र याहवेह इस्राएलका परमेश्‍वरले केही असल पाउनुभएको छ।

[14] “याहवेहले आफ्नै निम्ति इस्राएलमाथि एउटा राजा खडा गर्नुहुनेछ, जसले यारोबामको परिवारलाई सखाप पार्नेछ। त्यो आजै हुनेछ! अहिले नै हुनेछ।

[15] याहवेहले इस्राएलमाथि प्रहार गर्नुहुनेछ, र त्यो पानीमा यताउता हल्‍लिरहने निगालोझैँ हुनेछ। उहाँले इस्राएललाई तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उखेल्नुहुनेछ। तिनीहरूलाई नदीपारि तितरबितर गरिदिनुहुनेछ। किनकि तिनीहरूले अशेरा देवीका खम्बाहरू बनाएर याहवेहलाई रिस उठाएका छन्।

[16] उहाँले यारोबामले गरेका पापहरूको कारण र तिनले इस्राएललाई गर्न लगाएका पापहरूको कारण इस्राएललाई त्याग्नुहुनेछ।”

[17] तब यारोबामकी पत्नी उठिन् र तिर्सामा गइन्। तिनले आफ्नो घरको सँघारमा पाइला टेक्नसाथ त्यो केटो मर्‍यो।

[18] याहवेहले आफ्नो सेवक अगमवक्ता अहीयाहद्वारा भन्‍नुभएझैँ तिनीहरूले त्यसलाई गाडे; अनि सारा इस्राएलले त्यसका निम्ति शोक गरे।

[19] यारोबामको शासनका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र तिनले कसरी शासन गरे, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।

[20] तिनले बाइस वर्ष राज्य गरे, अनि आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे। तिनीपछि तिनका छोरा नादाब राजा भए।

[21] यहूदामा सोलोमनका छोरा रहबाम राजा थिए। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्।

[22] यहूदाले याहवेहको दृष्‍टिमा दुष्‍टता गर्‍यो। तिनीहरूले गरेका पापहरूद्वारा तिनीहरूले उहाँलाई आफ्ना पितापुर्खाहरूले भन्दा बढी डाही तुल्याए।

[23] तिनीहरूले आफ्नो लागि प्रत्येक अग्लो डाँडामा र प्रत्येक झ्याम्म परेको रूखमुनि अल्गा देवस्थानहरू, पवित्र ढुङ्गाहरू, अशेराका खम्बाहरू खडा गरे।

[24] देशमा पूजा गर्ने देवस्थानहरूमा देवदासहरू पनि थिए। इस्राएलीहरूको सामुबाट याहवेहद्वारा धपाइएका जातिहरूका घिनलाग्दा रीतिहरू गर्न मानिसहरू व्यस्त थिए।

[25] राजा रहबामको पाँचौँ वर्षमा इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरे।

[26] तिनले याहवेहको मन्दिर र राजमहलका बहुमूल्य चीजहरू लुटेर लगे। सोलोमन राजाले बनाएका सुनका ढालहरू लगायत प्रत्येक कुरो तिनले लुटेर लगे।

[27] यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।

[28] राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।

[29] रहबामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै विषयमा ती यहूदाका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्।

[30] रहबाम र यारोबामका बीचमा निरन्तर युद्ध भइरह्‍यो।

[31] अनि रहबाम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनकी आमाको नाम नामा थियो, जो एक अम्मोनी थिइन्। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।

1राजाहरू — Chapters