[1] जब शेबाकी रानीले सोलोमनको ख्याति अनि याहवेहप्रतिको तिनको भक्तिभावको बारेमा सुनिन्, तब तिनी कठिन प्रश्नहरू सहित तिनको जाँच गर्नलाई आइन्।
[2] तिनी मसलाहरू, धेरै मात्रामा सुन र मूल्यवान् पत्थरहरू लादिएका ऊँटहरू लिएर अति लामो लावालस्करका साथमा यरूशलेममा आइपुगिन्। जब तिनले सोलोमनलाई भेटिन्, तब आफ्नो मनमा भएका सबै कुराहरूको विषयमा तिनीसित कुरा गरिन्।
[3] सोलोमनले तिनका सबै प्रश्नहरूको उत्तर दिए। तिनका सबै कुरा वर्णन गर्न राजालाई कुनै कठिन थिएन।
[4] जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि र तिनले बनाएको राजमहल,
[5] तिनको टेबुलको भोजन, तिनका अधिकारीहरूको बसाइ, भव्य पोशाक पहिरिएका सेवकहरू, तिनका प्याला टक्राउनेहरू अनि याहवेहको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखेर छक्क परिन्।
[6] तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ।
[7] तर पनि आइकन आफ्नै आँखाले नदेखेसम्म मैले यी कुराहरू पत्याएकै थिइनँ। वास्तवमा मलाई त यसको आधा पनि बताइएको रहेनछ; तपाईं बुद्धिमा र धनमा मैले सुनेको चर्चाभन्दा पनि धेरै माथि हुनुहुँदोरहेछ।
[8] तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्!
[9] याहवेह तपाईंका परमेश्वरलाई प्रशंसा होस्, जसले तपाईंसित प्रसन्न भएर तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभयो। इस्राएलप्रति याहवेहको अनन्त प्रेमको कारण उहाँले तपाईंलाई न्याय र धार्मिकता कायम राख्नलाई राजा बनाउनुभएको छ।”
[10] तब तिनले राजालाई 120 टालेन्ट सुन, धेरै मात्रामा मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जति धेरै मात्रामा मसाला दिइन्, त्यति धेरै फेरि कहिल्यै आएन।
[11] (ओपीरबाट सुन ल्याउने हीरामका जहाजहरूले त्यहाँबाट धेरै चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याए।
[12] राजाले चन्दनका काठहरू याहवेहको मन्दिर अनि राजमहलमा टेको बनाउन र वाद्य-वादकहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा प्रयोग गरे। त्यस दिनदेखि यता त्यत्तिको मात्रामा चन्दनको काठ भित्र्याइएको वा देखिएको छैन।)
[13] शेबाकी रानीलाई पनि तिनले इच्छा गरेका र मागेका सबै चीज दिए, र तीबाहेक राजा सोलोमनले आफ्नो राजकीय प्रशस्तताबाट पनि दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्।
[14] सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो।
[15] यसमा व्यापारी र व्यवसायीहरू, अरबका राजाहरू र देशका राज्यपालहरूद्वारा ल्याइएको राजकर सामेल थिएन।
[16] राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो।
[17] तिनले तीन सय वटा पिटेको सुनका स-साना ढालहरू बनाए, जसमा प्रत्येक ढालमा तीन मीना सुन थियो। राजाले ती लेबनानको वनमा भएको महलमा राखे।
[18] त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; अनि त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
[19] त्यस सिंहासनमा छ वटा खुड्किलाहरू थिए। त्यसको पछिल्तिर गोलाकार टुप्पो बनाइएको थियो। आसनका दुवैतिर हात राख्ने बाहु थिए। प्रत्येक बाहुको छेउ-छेउमा एक-एक वटा सिंह खडा गरिएको थियो।
[20] ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन।
[21] राजा सोलोमनका सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो।
[22] हीरामका जहाजहरूको साथमा, राजाका व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तीन वर्षमा ती जहाजहरूले सुन, चाँदी, हस्तीदन्त, ढेढुहरू र मयूरहरू लिएर आउँथे।
[23] यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए।
[24] परमेश्वरले तिनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्नका निम्ति सारा जगत् तिनको सामु जाने इच्छा गर्दथ्यो।
[25] वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू, मसलाहरू, घोडाहरू र खच्चरहरू ल्याउँथे।
[26] सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे।
[27] राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।
[28] सोलोमनका घोडाहरू इजिप्टबाट र क्यूएबाट आयात गरिन्थे। राजाका व्यापारीहरूले ती क्यूएबाट राम्रो दाममा किन्थे।
[29] तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा र एउटा घोडाचाहिँ एक सय पचास शेकेलमा किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे।