Skip to content
Opens in a new window
Listen to this chapter • 5:22

[1] जब सोलोमनलाई आफ्ना पिता दावीदको उत्तराधिकारीको रूपमा राजा अभिषेक गरिएको कुरा टायरका राजा हीरामले सुने, तब तिनले सोलोमनकहाँ आफ्ना दूतहरू पठाए। किनकि तिनी सधैँ दावीदसँग मित्रतामा थिए।

[2] सोलोमनले हीरामलाई यो सन्देश पठाए:

[3] “मेरा पिता दावीदको विरुद्धमा चारैतिरबाट युद्ध भएको कारण, याहवेह आफ्ना परमेश्‍वरको नामका निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन भन्‍ने कुरा त तपाईंलाई थाहै छ। किनकि याहवेहले उहाँका शत्रुहरूलाई आफ्नो अधीनमा नपारेसम्म उहाँले त्यो बनाउन सक्नुभएन।

[4] तर अब याहवेह मेरा परमेश्‍वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ। अनि कतै पनि विरोधी अथवा विपत्ति छैन।

[5] यसकारण याहवेह मेरा परमेश्‍वरले मेरा पिता दावीदलाई ‘मैले तेरो ठाउँमा, तेरो सिंहासनमा राखेको तेरो छोराले मेरो नामको निम्ति मन्दिर बनाउनेछ’ भन्‍नुभएअनुसार मैले उहाँको निम्ति एउटा मन्दिर बनाउने विचार गरेको छु।

[6] “यसकारण मेरा लागि लेबनानका देवदारुको काठ काट्नको निम्ति हुकुम गर्नुहोस्। मेरा मानिसहरूले तपाईंसित काम गर्नेछन्। अनि म तपाईंका मानिसहरूलाई तपाईंले तोक्नुभएको ज्याला दिनेछु। सीदोनीहरूजस्ता रूख ढाल्ने सिपालु मानिस हामीसित छैनन् भनी तपाईंलाई थाहै छ।”

[7] जब हीरामले सोलोमनको सन्देश सुने, तब तिनी अति प्रसन्‍न भएर भने, “आज याहवेहको प्रशंसा होस्; किनकि उहाँले यो महान् जातिमाथि शासन गर्न दावीदलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”

[8] यसकारण हीरामले सोलोमनकहाँ यो खबर पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। अनि देवदारु र सल्‍लाका काठ दिने विषयमा म तपाईंले भन्‍नुभएझैँ सबै कुरा गर्नेछु।

[9] मेरा मानिसहरूले ती लेबनानबाट समुद्रमा खसाइदिनेछन्। अनि तिनीहरूलाई बाँधेर समुद्रमा तपाईंले भन्‍नुभएको ठाउँसम्म म बगाइदिनेछु। त्यहाँ म तिनीहरूलाई अलग गरिदिनेछु; र तपाईंले ती लान सक्नुहुन्छ। तपाईंले चाहिँ मेरो राजकीय घरानाको निम्ति भोजनको जिम्मा लिइदिनुहोस्।”

[10] यस किसिमले हीरामले सोलोमनलाई तिनलाई चाहिएका सबै देवदारु र सल्‍लाका काठहरू दिइरहे।

[11] सोलोमनले हीरामलाई तिनको घरानाको भोजनका निम्ति बीस हजार कोर्स गहुँको साथमा बीस हजार बाथ जैतुनको पेलिएको तेल दिए। सोलोमनले हीरामका निम्ति वर्षेनी यसो गरिरहे।

[12] याहवेहले सोलोमनलाई आफूले प्रतिज्ञा गर्नुभएझैँ बुद्धि दिनुभयो। हीराम र सोलोमनको बीचमा शान्तिपूर्ण सम्बन्ध थियो, अनि दुवैले आपसमा सन्धि गरे।

[13] राजा सोलोमनले सारा इस्राएलबाट तीस हजार मानिसहरूलाई मजदुरी गर्न लगाए।

[14] राजाले हरेक महिना तिनीहरूलाई दश-दश हजार गरेर पालैपालो एक महिनाको लागि लेबनानमा पठाउँथे। यसरी तिनीहरू एक महिना लेबनानमा काम गर्थे; र दुई महिना आफ्नै घरमा बस्दथे। अनि अदोनीराम बेतलबी श्रमिकहरूको जिम्मावाल थिए।

[15] सोलोमनका भारी बोक्ने भरियाहरू पहाडमा सत्तरी हजार र ढुङ्गा काट्नेहरू असी हजार थिए।

[16] साथसाथै सोलोमनले तेत्तीस सय मानिसहरूलाई मजदुरहरूका कामको रेखदेख गर्नलाई खटाए।

[17] राजाको आज्ञाअनुसार तिनीहरूले मन्दिरको जगको निम्ति कुँदिएका असल र ठूला ढुङ्गाहरू खानीबाट निकाले।

[18] सोलोमन र हीरामका कारिगरहरू र गेबालका मानिसहरूले मन्दिर निर्माणका निम्ति काठ र ढुङ्गाहरू तयार पारे।

1राजाहरू — Chapters