[1] केही समय बितेपछि यिजरेली नाबोतको दाखबारीको विषयलाई लिएर एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलको छेउमा थियो।
[2] आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मेरो दरबारको छेउमा भएकोले त्यो मलाई मेरो करेसाबारी बनाउनलाई देऊ। त्यसको सट्टामा म तिमीलाई अझ उत्तम दाखबारी दिनेछु, अथवा यदि तिमी चाहन्छौ भने त्यसको जति मूल्य पर्छ, सो म तिर्नेछु।”
[3] तर नाबोतले जवाफ दिए, “आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन सक्दिनँ। याहवेहले यसो हुन नदेऊन्।”
[4] यिजरेली नाबोतले “म आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिनेछैनँ” भनेको सुनेर आहाब उदास र क्रोधित भएर घर गए। तिनी खिन्न भई आफ्नो ओछ्यानमा ढल्किरहे, र केही पनि खाएनन्।
[5] तिनकी पत्नी ईजेबेलले भित्र आएर तिनलाई सोधिन्, “तपाईं किन उदास हुनुहुन्छ? तपाईं किन केही खानुहुन्न?”
[6] तिनले उनलाई जवाफ दिए, “किनकि मैले यिजरेली नाबोतलाई भनेँ, ‘मलाई तिम्रो दाखबारी बेच, अथवा यदि तिमी चाहन्छौ भने त्यसको सट्टामा म अर्को दाखबारी दिनेछु।’ तर त्यसले भन्यो, ‘म तपाईंलाई मेरो दाखबारी दिन्नँ।’ ”
[7] तिनकी पत्नी ईजेबेलले भनिन्, “के तपाईंले इस्राएलमा यसरी नै राजा भएर काम गर्नुहुन्छ? उठेर खानुहोस्। प्रसन्न रहनुहोस्। म तपाईंलाई यिजरेली नाबोतको दाखबारी दिलाउनेछु।”
[8] यसकारण उनले आहाबको नाममा चिट्ठीहरू लेखिन्, र त्यसमा मोहर लगाइन्; अनि ती चिट्ठीहरू नाबोतको सहरमा तिनीसित बस्ने प्रधानहरू र भारदारहरूकहाँ पठाइन्।
[9] ती चिट्ठीहरूमा तिनले यसरी लेखिन्: “उपवासको एक दिन घोषणा गर्नू, र नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा राख्नू।
[10] तर त्यसको सामु दुई जना दुष्ट व्यक्तिहरूलाई बसाउनू। अनि त्यसले परमेश्वर र राजा दुवैलाई सरापेको छ भनी तिनीहरूलाई साक्षी दिन लगाउनू। त्यसपछि त्यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार्नू।”
[11] यसकारण नाबोतको सहरमा बस्ने ती प्रधानहरू र भारदारहरूले ईजेबेलले तिनीहरूलाई लेखेका चिट्ठीहरूमा हुकुम दिएअनुसार गरे।
[12] तिनीहरूले उपवासको दिन घोषणा गरे; अनि नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा बसाए।
[13] तब दुई नीच व्यक्तिहरू आएर त्यसका सामु बसे; अनि “नाबोतले परमेश्वर र राजा दुवैलाई सरापेको छ” भनेर नाबोतको विरुद्धमा अभियोग लगाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे।
[14] तब तिनीहरूले ईजेबेलकहाँ यसो भनी खबर पठाइदिए, “नाबोतलाई ढुङ्गाले हानेर मारियो।”
[15] नाबोतलाई ढुङ्गाले हानेर मारियो भन्ने ईजेबेलले सुन्नेबित्तिकै तिनले आहाबलाई भनिन्, “उठ्नुहोस् र यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको त्यसको दाखबारीमाथि अधिकार गर्नुहोस्। ऊ अब जीवित छैन।”
[16] जब आहाबले नाबोत मरेको सुने, तब तिनी उठेर यिजरेली नाबोतको दाखबारीमाथि अधिकार गर्न गए।
[17] तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो:
[18] “सामरियामा राज्य गर्ने इस्राएलका राजा आहाबकहाँ जानू। त्यो अहिले नाबोतको दाखबारीमाथि अधिकार गर्नलाई त्यहीँ गएको छ।
[19] त्यसलाई भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: के तँलाई नाबोतको हत्या गरेर पुगेन र त्यसको सम्पत्ति पनि खोसिस्?’ त्यसपछि त्यसलाई भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: जहाँ कुकुरहरूले नाबोतको रगत चाटेका थिए, त्यही ठाउँमा तेरो पनि रगत कुकुरहरूले चाट्नेछन्!’ ”
[20] आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाइस्?” तिनले जवाफ दिए, “मैले तपाईंलाई भेट्टाएँ; किनकि याहवेहको दृष्टिमा दुष्टता गर्नलाई तपाईंले आफैँलाई बेच्नुभयो।
[21] तिनले भने, ‘अब म तपाईंमाथि विपत्ति ल्याउनेछु। म तपाईंका सन्तानहरूलाई भस्म पार्नेछु र कमारा होस् कि फुक्का, आहाबका प्रत्येक पुरुषलाई नाश गर्नेछु।
[22] म तपाईंका घरानालाई नबातका छोरा यारोबाम र बाशाका छोरा अहीयाहको जस्तै बनाउनेछु। किनकि तपाईंले मलाई रिस उठाउनुभयो र इस्राएललाई पाप गर्न लगाउनुभयो।’
[23] “ईजेबेलको विषयमा पनि याहवेह भन्नुहुन्छ: ‘यिजरेलको पर्खालको छेउमा ईजेबेललाई कुकुरहरूले खानेछन्।’
[24] “आहाबका जति जना सहरमा मर्छन्, तिनीहरूलाई कुकुरहरूले खानेछन्, र गाउँमा मर्नेहरूलाई आकाशका पक्षीहरूले खानेछन्।”
[25] (आहाबजस्तो आफ्नी पत्नी ईजेबेलद्वारा उक्साइएर याहवेहको दृष्टिमा दुष्टता गर्न आफैँलाई बेच्ने अर्को मानिस कहिल्यै कोही थिएन।
[26] एमोरीहरूलेझैँ आहाबले मूर्तिहरूको पछि लागेर तिनले अति नै नीच काम गरे। ती एमोरीहरूलाई याहवेहले इस्राएलीहरूका सामुबाट धपाउनुभएको थियो।)
[27] यो कुरा सुनेपछि आहाबले आफ्ना वस्त्र च्याते, भाङ्ग्रा लगाए, र उपवास बसे। तिनी भाङ्ग्रा लगाएरै सुते, र उदास भई हिँडे।
[28] तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो,
[29] “आहाबले आफूलाई मेरो सामु विनम्र तुल्याएको के तैँले ध्यान दिइस्? त्यसले आफूलाई विनम्र तुल्याएकोले म त्यसको समयमा यी विपत्ति ल्याउनेछैनँ, तर त्यसको छोराको समयमा त्यसको घरानामाथि त्यो ल्याउनेछु।”