[1] नबातका छोरा यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए।
[2] तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो अबीशालोमकी छोरी थिइन्।
[3] तिनले आफूअगिका तिनका पिताले गरेका सबै पापहरू गरे। तिनको हृदय तिनका पुर्खा दावीदको झैँ याहवेहप्रति सम्पूर्ण रूपले समर्पित थिएन।
[4] तैपनि दावीदको खातिर याहवेह तिनका परमेश्वरले उहाँको उत्तराधिकारी हुनको लागि एउटा छोरा दिनुभएर यरूशलेममा एउटा बत्ती दिनुभयो, अनि यरूशलेमलाई बलियो बनाउनुभयो।
[5] किनकि दावीदले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरेका थिए। तिनले आफ्नो जीवनकालभरि हित्ती उरियाहको विषयमा बाहेक याहवेहका कुनै आज्ञापालन गर्न चुकेका थिएनन्।
[6] अबीयाहको जीवनकालभरि रहबाम र यारोबामको बीचमा लडाइँ भइरह्यो।
[7] अबीयाहको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा ती यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। अबीयाह र यारोबामको बीचमा निरन्तर युद्ध भइरह्यो।
[8] अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए।
[9] इस्राएलका राजा यारोबामको बीसौँ वर्षमा आसा यहूदाका राजा भए।
[10] तिनले यरूशलेममा एकचालीस वर्ष राज्य गरे। तिनकी हजुरआमाको नाम माका थियो, जो अबीशालोमकी छोरी थिइन्।
[11] आसाले आफ्ना पिता दावीदले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
[12] तिनले देशबाट देवस्थानहरूमा भएका देवदासहरूलाई निकालिदिए। देशलाई आफ्ना पिताले बनाएका मूर्तिहरूदेखि मुक्त गरे।
[13] राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।
[14] तिनले अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।
[15] तिनले याहवेहको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।
[16] आसा र इस्राएलका राजा बाशाको बीचमा तिनीहरूका शासनकालभरि युद्ध भइरह्यो।
[17] इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए।
[18] तब आसाले याहवेहको मन्दिरभित्र र आफ्नै महलभित्र भएका सबै चाँदी र सुन लिए। तिनले त्यसलाई आफ्ना अधिकारीहरूको जिम्मामा सुम्पेर तिनीहरूलाई दमस्कसमा राज्य गर्ने अरामका राजा बेन-हददकहाँ पठाइदिए। बेन-हदद तब्रिमोनका छोरा र हेज्योनका नाति थिए।
[19] तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ उपहारस्वरूप चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।”
[20] तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनले नप्ताली सहित इयोन, दान, हाबिल-बेथ-माका र सम्पूर्ण किन्नरेतलाई कब्जा गरे।
[21] बाशाले यो सुनेपछि रामालाई निर्माण गर्न छोडिदिए, र तिर्सामा फर्के।
[22] तब राजा आसाले कसैलाई पनि नछोडी सारा यहूदामा एउटा हुकुम जारी गरे। तिनीहरूले बाशाले रामामा प्रयोग गर्दै गरेका ढुङ्गाहरू र काठहरू बोकेर लगे। ती सामानद्वारा राजा आसाले बेन्यामीनमा गेबा र मिस्पा बनाए।
[23] राजा आसाका जीवनकालका अरू घटनाहरू, तिनका सारा उपलब्धीहरू तिनले गरेका सबै कामहरू र तिनले बनाएका सहरहरूका विषयमा यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। तैपनि तिनको वृद्धावस्थामा तिनका खुट्टामा रोग लाग्यो।
[24] तब आसा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, अनि तिनीहरूसितै आफ्ना पिता दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोशापात राजा भए।
[25] यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। उनले इस्राएलमा दुई वर्ष राज्य गरे।
[26] उनले याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। इस्राएललाई उनका पिताले गर्न लगाएका पापमा चलेर उनी तिनकै चालमा हिँडे।
[27] इस्साखारको घरानाको अहीयाहका छोरा बाशाले तिनको विरुद्धमा षड्यन्त्र रचे। अनि नादाब र सारा इस्राएलले पलिश्ती सहरलाई घेरा हालेको बेला उनले तिनलाई प्रहार गरेर मारे।
[28] यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, र तिनीपछि उनी राजा भए।
[29] बाशाले शासन गर्न थाल्नसाथ तिनले यारोबामको सम्पूर्ण परिवारलाई मारे। तिनले यारोबामका सास फेर्ने एउटैलाई पनि बाँकी राखेनन्। तर याहवेहको सेवक शीलोनी अहीयाहद्वारा उहाँले भन्नुभएको वचनअनुसार तिनीहरू सबैलाई नष्ट गरिदिए।
[30] योचाहिँ यारोबामले गरेको पाप र तिनले इस्राएललाई गर्न लगाएको पापको कारणले अनि तिनले याहवेह इस्राएलका परमेश्वरलाई रिस उठाएको कारणले गर्दा नै भएको थियो।
[31] नादाबको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
[32] आसा र इस्राएलका राजा बाशाको बीचमा तिनीहरूका शासनकालभरि युद्ध भइरह्यो।
[33] यहूदाका राजा आसाको तेस्रो वर्षमा अहीयाहका छोरा बाशा तिर्सामा सम्पूर्ण इस्राएलका राजा भए। तिनले चौबीस वर्ष राज्य गरे।
[34] तिनले याहवेहको दृष्टिमा जे दुष्टता थियो, त्यही गरे; र यारोबामका मार्गहरूमा र उनका पापहरूमा हिँडे; जुन पापहरूद्वारा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।